समाचारमा बालबालिका

बाल स्वास्थ्य प्रतिष्ठानलाई जग्गा

मन्त्रिपरिषद्ले डा. भगवान् कोइरालाको नेतृत्वमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रतिष्ठान काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई ४१ रोपनी १० आना तीन पैसा जग्गा लिजमा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कियोचका निम्ति नेपाल सरकारको नाममा रहेको साबिक खड्का भद्रकाली–७ कित्ता नम्बर ७३ हाल बुढानीलकण्ठ नगरपालिका–७ कित्ता नम्बर २३ को जग्गा लिजमा उपलब्ध गराइन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। काठमाडौंलगायत सातै प्रदेशमा निर्माण हुने अस्पताल सन् २०५० सम्मको सबैभन्दा अत्याधुनिक स्वास्थ्य–संस्था हुने परिकल्पना डा.कोइरालाको टिमले गरेको छ। काठमाडौंमा एक सय र बाँकी ६ प्रदेशमा ५०/५० शड्ढयाको अस्पतालमा बाल स्वास्थ्यका निम्ति सम्पूर्ण सुविधा उपलब्ध हुने यसका पहलकर्तामध्येका एक दीपकराज सापकोटाले नागरिकलाई बताए। सापकोटाले आगामी ६ महिनामा अस्पतालका निम्ति अनुमति लिइने, वातावरणीय अध्ययन गरिने, डिजाइन र निर्माण कार्य थालनी गरिने जानकारीसमेत दिए। वरिष्ठ मुटुरोग सर्जन कोइरालाले आफ्नो बाँकी जीवन यो संस्था निर्माणका निम्ति लगाउने घोषणा गरिसकेका छन्। सरकार र जनस्तर दुवैको सहयोगमा विश्व स्तरको सेवा दिने गरी यो स्वास्थ्य प्रतिष्ठान निर्माण हुने विश्वास अभियन्ताहरूको छ।

२०७६ साउन १० गते ८:१७ मा प्रकाशित