समाचारमा बालबालिका

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

सिन्धुपाल्चोककी सुष्मा तामाङ ९नाम परिवर्तन० आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् । ‘नचाहँदा नचाहँदै बच्चा जन्मिहाल्यो । कोखबाट जन्मिसकेपछि माया लाग्दोरहेछ,’ कुवेतस्थित मंगापमा बस्दै आएकी सुष्माले कान्तिपुरलाई फोनमा भनिन्, ‘अरूको जिम्मा लगाउन सकिनँ । आफैं लिएर जान्छु । कर्म दिलाउँछु ।’उनी ८ वर्षअघि घरेलु कामदार ९हाउसमेड० का रूपमा कुवेत पुगेकी थिइन् । घरभित्रको काम सहज थिएन । दैनिक यातना सहनुपथ्र्यो । जसोतसो भागेर निस्कँदा नवलपरासीका एक युवकसँग सम्पर्क भयो । ‘हामीसँगै बस्न थाल्यौं । मलाई आश्रय चाहिएको थियो । उसले आश्रय दियो । सँगै बस्दै गएपछि मायाप्रेम बस्यो । बच्चा पनि जन्मियो,’ उनले भने, ‘उसले नेपाल गइसकेपछि साथ देला वा नदेला भन्न सक्दिनँ । उसको आफ्नै संसार छ । तर, मेरो संसार अब यही छोरो हुनेछ ।’कुवेत सरकारले झन्डै एकमहिने आममाफी कार्यक्रम ल्याएपछि सुष्माजस्ता घरेलु कामदारका लागि वैध रूपमा घर फिर्ने ढोका खुलेको हो । आममाफी खुलेको ६ दिन भयो । अहिलेसम्म नेपाली दूतावासबाट २५ बालबालिकालाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ । जसमा १३ बालक र १२ बालिका छन् । तिनमा नवजातदेखि १४ वर्षसम्मका छन् ।

कुवेतको आवासीय कानुनअनुसार विवाहपूर्व सँगै बस्नु, शारीरिक सम्बन्ध कायम र बच्चा जन्माउनु अपराध हो । नेपाल सरकारबाट प्रमाणित विवाह दर्ता साथमा भएका जोडी मात्रै सँगै बस्न पाउँछन् । लुकिछिपी बसेर बच्चा जन्माएका हाउसमेडलाई प्रहरीले पक्राउ गरेर जेल पठाउने नियम छ । बच्चासहित लुकेर बसिरहेका घरेलु कामदारलाई आममाफीको कार्यक्रमले ठूलो राहत मिलेको छ । ‘बच्चासहित बस्नुपर्दाको पीडा असाध्यै कठिन थियो । एउटा कोठामा खाट मात्रै अट्ने गरी बारेर बस्यौं । त्यस्तो कोठाको भाडा नै ६० केडी ९२० हजार रुपैयाँ० आफू काम गर्न पाउने अवस्था भएन । कतिपय घरमा बच्चा बोकेर नै काम गर्न जान्थें,’ रसुवाकी माया वाइबा ९नाम परिवर्तन० ले भनिन्, ‘आफू पनि बच्नुपर्‍यो । सानी छोरीलाई पनि बचाउनुपर्‍यो ।’बच्चा जन्मिएपछि केटा साथीले बिचल्ली बनाएर हिँडेका कुमारी आमाहरूको अवस्था झन् दयनीय छ । ‘घरमा कामै गरिरहेकी थिएँ । बाहिर निस्कन पाइनँ । चितवनका एक युवकसँग कसोकसो सम्पर्क भयो । उसले नै भागेर आउन सल्लाह दियो,’ तेह्रथुमकी युवतीले भनिन्, ‘बच्चा भएपछि भने ऊ सम्पर्कविहीन भएर बस्यो । छोरीलाई हुर्काउन ठूलो सास्ती खेप्नुपर्‍यो । छाक जुटाउन पनि गाह्रो थियो । नेपालीकै साथसहयोगले खाना र बस्ने कोठाको प्रबन्ध मिल्यो । साथीहरू फुर्सद भएको मौकामा बच्चा हेर्न दिन्छु । कहिले मिल्ने ठाउँमा बच्चै लिएर काममा जान्छु । जिन्दगीमा नपाउनुसम्मको दुस्ख पाइयो ।

धेरैजसो कुमारी आमालाई भने बच्चा लिएर घर फिर्न निकै कठिन भइरहेको छ । ‘तावाको माछा भुंग्रोमा भएजस्तो भयो । यहाँबाट बच्चा लिएरै स्वदेश पुग्न कठिन थियो । दूतावासले ट्राभल डकुमेन्ट जारी भइसकेपछि अब त जान पनि सकिने स्थिति छ । तर, काठमाडौं पुगेपछि घर जाने कि त्यहीँ बस्ने टुंगो छैन । यस्तो समस्या परिवारलाई बताएको छैन । कसरी बाबुआमासँग सामना गर्ने हो थाहा छैन,’ बर्दियाका चौधरीले भनिन् । कुवेतमा क्रियाशील सामाजिक अभियन्ताहरूअनुसार पाकिस्तान, बंगाल, इजिप्टलगायत देशका नागरिकसँग बसेर बच्चा जन्माएका महिलालाई पठाउन अझै चुनौतीपूर्ण छ । नेपाली दूतावासका अनुसार कुमारी आमाहरूको संख्या अझै बढ्न सक्ने स्थिति छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली बाबु पहिचान भएको केसमा मात्रै बच्चाहरूको ट्राभल डकुमेन्ट जारी गरिएको छ । ‘बच्चाका बाबुहरू पहिचान गर्न कठिन छ,’ उनले भने, ‘नेपाली समुदायमा सर्जमिन गराएर बाबु–आमा नेपाली नै भएको पुष्टि भएपछि हामीले ट्राभल डकुमेन्ट जारी गरेका हौं ।’दूतावासले अवैध रूपमा बस्दै आएका १ हजार ३ सय ६५ नेपालीलाई घर फिर्न ट्राभल डकुमेन्ट जारी गरिसकेको छ । जसमा सबभन्दा बढी ८ सय ८२ महिला र ४ सय ५९ पुरुष कामदार छन् । हमालका अनुसार ट्राभल डकुमेन्ट जारी भएकाहरू टिकट काटेर अब स्वदेश फिर्न पाउनेछन् । आगामी फेब्रुअरी २३ तारिखसम्म हुने आममाफीमा सहभागी नभए कुवेतले खाडीका अन्य देश बहराइन, साउदी अरब, कुवेत, ओमन र यूएईमा काम गर्नसमेत रोक्ने गरी कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

२०७४ माघ २१ गते ६:५३ मा प्रकाशित