समाचारमा बालबालिका

भतिजी अपहरण गरेर १६ लाख मागेपछि

म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्‍चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ आइतबार बिहान करिब ११ बजे मध्यपुर थिमि–५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा फोन आयो । फोनमा भनेअनुसारै ग्रीष्मा राउतलाई लिन १२ बजेर १० मिनेटमा अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरे । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए । ग्रीष्मालाई शिक्षकले ‘उहाँलाई चिन्छौ नानी रु’ भनेर सोधे । ग्रीष्माले ‘चिन्छु, उहाँ अंकल हो’ भनिन् ।’ ग्रीष्मा सोही स्कुलमा यूकेजीमा अध्ययनरत छिन् । त्यसपछि शिक्षकले ग्रीष्मालाई अपरिचतको जिम्मा लगाए । ग्रीष्मालाई लिएर ती अपरिचित व्यक्ति ‘पार्टीमा जानु छ, उतै हिँड’ भनेर एनएस ब्रान्डको बा९६प १६२० नम्बरको मोटरसाइकलमा राखेर लगे । पार्टीमा लैजाने भनेर ग्रीष्मालाई ती अपरिचितले सूर्यविनायकस्थित घ्याम्पेडाँडा जंगलमा पुर्‍याए । ग्रीष्मालाई चकलेट दिएर फकाएका उनले जंगलमा पुर्‍याएपछि मुखमा रुमाल र डोरीले उनको शरीर रुखमा बाँधेर छोडे । त्यसपछि करिब १ बजे ती अपरिचितले ग्रीष्माका बुबा कुबेर राउतलाई फोन गरे । ‘१६ लाख लिएर आउनू, नत्र छोरी ज्युँदो रहँदिन’ भन्दै धम्की दिए । कुबेरले स्कुलमा फोन गरे । छोरी कसको जिम्मा पठाएको भनेर सोधेपछि पो स्कुलका शिक्षकले ग्रीष्मा अपहरणमा परेको बल्ल थाहा पाए । अपहरणको करिब २ घण्टापछि मात्रै यो घटनाबारे सूचना प्रहरीमा पुग्यो । त्यहीबीच घ्याम्पेडाँडा घुम्न गएका बिघसिंह कार्की र सुभेच्छा नेपालले जंगलमा बच्चा रोइरहेको आवाज सुने । ख्वप इन्जिनियरिङ कलेजमा स्नातक दोस्रो वर्षका यी दुई विद्यार्थी आइतबार साढे १२ बजे साथीसँगै त्यहाँ घुम्न गएका थिए । ‘एक व्यक्तिले मोटरसाइकलमा बालिकालाईअप्ठ्यारो बाटो लगेको थियो, हामीलाई लाग्यो कुनै आफन्त होला,’ बिघले भने, ‘आधा घण्टापछि बालिका रोएको आवाज सुन्यौं । पछि सोही बालिकाको घाँटीमा टालाले बाँधेको देख्यौं, रूखमा डोरीले बाँधेर मोटरसाइकलवालाले तिम्रो बाबालाई लिएर आउँछु भन्दै भागेको रहेछ ।’ बिघ बालिका रहेका ठाउँमा पुगेर शरीर र घाँटीमा बाँधेको टालो र डोरी फुकाइदिए । सोधखोज गर्दा ग्लोरी इङलिस स्कुलका विद्यार्थी रहेको उनले थाहा पाए । रोइरहेकी ग्रीष्मालाई उनीहरूले करिब २ बजेर ३० मिनेटमा स्कुल पुर्‍याइदिए । संजोग नैभन्नुपर्ला, बिघसिंह पनि त्यही स्कुलका पूर्वविद्यार्थी रहेछन् । त्यसपछि प्रहरी विद्यालय पुगेर अनुसन्धान गर्दा अपहरणकारी आशिष थापा रहेको खुल्यो । आशिष र ग्रीष्माका बुबा कुबेर मामा र फुपूका छोरा रहेको खुल्यो । अपहरणमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले पत्ता लगाउन सक्ने भन्दै आशिषले सातदोबाटोस्थित साथी आशिष भण्डारीको घरमा पुर्‍याए । भण्डारीको बा९०प ७०० नम्बरको मोटरसाइकलबाट फर्किएका आशिषलाई पछि मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकबाट प्रहरीले पक्राउ गर्‍यो । उनलाई मोटरसाइकल दिने भण्डारीलाई पनि साँझ नियन्त्रण लिएको छ । महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी शान्तिराज कोइरालाले अपहरणकारी सर्लाही लालबन्दी नगरपालिका–५ घर भई मध्यपुर थिमि–६ बस्ने २० वर्षीय आशिष थापा रहेको बताए । प्रहरीले अपहरणकारी पक्राउ गर्न सीसीटीभी फुटेजका आधारमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको थियो । फिरौती मागेपछि कुबेर १६ लाख रुपैयाँ र प्रहरीलाई साथमा लिएर गएका थिए । त्यही क्रममा आशिष एसएसचोकबाट साँझ ५ बजेर २० मिनेटमा पक्राउ परेका हुन् । स्कुलका प्रिन्सिपल शंकरकर्ण कायस्थले अपरिचितले बालिका अपहरण गर्न पहिले नै योजना बनाएको र बालिकाले पनि चिन्छु भनेर मात्रै आफूहरूले दिएको बताए । ‘ग्रीष्माका बुबाको नाटक गरेर अपहरणकारी आएका रहेछन्, ग्रीष्माले पनि अपहरणकारीलाई चिन्छु भनेपछि समस्या भयो,’ उनले भने । कुबेरले प्रहरीसँग भने, ‘ऊ मेरो मामाको छोरो, म फुपूको छोरो, ग्रीष्मा अपहरणकारीकी भतिजी पर्छिन्, खै किन अपहरण गरेको हो, केही थाहा छैन ।

२०७६ माघ २० गते ७:३२ मा प्रकाशित