समाचारमा बालबालिका

चार दिनअघि अपहरित बालकको उद्धार, दुई अपहरणकारी पक्राउ

प्रहरीले चार दिन अघि अपहरित १० वर्षीय एक बालकलाई सोमबार उद्धार गरी २ जना अपहरणकारीलाई पक्राउ गरेको छ । अपहरित प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका जयप्रकाश साहका छोरा आकाशकुमार साहलाई कलैया उप महानगरपालिका–२४ श्रीपुर गाउँबाट उद्धार गरिएको हो । पब्लिक बोर्डिङ स्कुलमा पढ्दै गरेका बालक विद्यालयमा पूजा गरिएको सरस्वतीको मूर्ति बिसर्जन गर्न गएको बेला अपहरणमा परेका थिए । बिसर्जन गरेर घर नफर्किएपछि घर अभिभावकले खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी गर्दै जाँदा १२ किलोमिटर टाढा रहेको गाउँबाट उनी उद्धार गरिएका हुन् । अपहरण गरेको आरोपमा वीरगन्ज–१४ गण्डक बहुहरी गाउँका रमेशराम चमार र प्रसौनी–५ बेलहिया प्रस्टोका गाउँका राजकुमार राम चमारलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक विकासराज खनालले बताए । रमेशले राजकुमार रामलाई अपहरण गरेर ल्याए बापत ५० हजार दिने कुराको तय गरेका थिए,’ प्रहरी उपरिक्षक खनालले भने, ‘बालकलाई बेहोस बनाउने औषधि खुवाएर साइकलमा लगिएको थियो । अपहरणको मुख्य योजनाकारको खोजी भइरहेको छ ।’ बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर पक्राउ परेका दुवैमाथि अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खनालले बताए।

२०७६ माघ २१ गते ६:०८ मा प्रकाशित