समाचारमा बालबालिका

विद्यार्थी कुटपिट मृत्यु प्रकरण: तीन शिक्षकलाई थुनामा राख्न आदेश

कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले मंगलबार अध्यक्ष, प्रिन्सिपललाई धरौटीमा रिहा गर्न र तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिएको छ । दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधिश गोपाल प्रसाद बास्तोलाको इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख रुपैयाँ धरौटी असुल्न र तीन शिक्षक लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले धरौटी र पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको बताए । २५ असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी र तीन शिक्षकविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए । शिक्षकले अनुशासन सन्तुलन गर्न समान्य दुई झापड मात्रै हानेको बताएका थिए । माधवलाई परिवारको जिम्मा लगाउँदा स्वास्थ्य अवस्था ठिकै रहेको उनीहरुको भनाई थियो । कुटपिट भएको १२ औँ दिनमा उनको मृत्यु भएपछि घटना रहस्यमयी भएको शिक्षकको भनाई थियो । १३ असारमा कुटिएका विद्यार्थीको १२ दिनपछि मृत्यु भएको थियो । मृत्यु भएको ११औँ दिनमा आफन्तले शव बुझेर अन्त्यष्टी गरेका थिए । विद्यार्थी कुटपिट घटनामा शिक्षक नै जेल गएपछि कञ्चनपुरको शैक्षिक माहोल तरङगित भएको छ । विद्यार्थीलाई समान्य कुटपिट गर्दा शिक्षक नै जेल जानथालेपछि शिक्षक त्रसित भएका छन् । माधवको सुरुमा डडेल्धुराको उप क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि महाकाली हुँदै नेपालगन्जको शिक्षण अस्पतालमा उपचारपछि भारतको राममूर्तिमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । बैतडी शिवनाथ गाउँपालिका(२ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउँ मामाघरमा बसेर अध्ययनरत थिए।

२०७६ साउन २१ गते ४:४५ मा प्रकाशित