समाचारमा बालबालिका

कालिकाेटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु

खोलाले बगाउँदा कालिकाेटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

आफन्तकहाँ जाँदा खाेला तर्ने क्रममा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ की एक महिलासहित उनका दुई छोरी र एक छोराको बगेर मृत्यु भएको हो।

मृत्यु हुनेमा ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छाेरी विपना, एक वर्षीया छाेरी आकृति र ७ वर्षीय  छाेरा हेमन्त रहेकाे प्रहरीले जनाएको छ।

‘उनीहरु आफन्तकहाँ आएका बेला घटना भएको हो,' कालिकोटका प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले भने। उनका अनुसार शनिबार साँझ नरहरीनाथ गाउँपालिका ७ स्थित उत्सव खोला तर्ने क्रममा उनीहरु बगेका थिए। इलाका प्रहरी कार्यालय कुमालगाउँबाट गएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरुकाे शव फेला पारेको थियो।

चारैजनाको शव आफन्तको जिम्मा लगाइएको ओलीयाले बताए। देवा केटाकेटीसहित आमाको वार्षिकी तिथिमा माइतीघर गएकी थिइन्। त्यहाँबाट कालिकोटमै रहेकी दिदीकाे घर जान खाेला तर्ने क्रममा उनीहरुलाई बगाएकाे हाे।

प्रकाशित मिति: आईतबार, साउन ३२, २०७७, १८:१८:००