‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा
कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनोमा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुन गाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन् । केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्। आलु र गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो । लगत्तै पिठो मुछेर उनीहरुले रोटी पनि तयार पारे । उनीहरुले पकाइ–तुल्याइसकेको केही बेरमा टिनिनिनी घण्टी बज्यो । विद्यालयका बालबालिका लाम लागे । उनीहरुलाई सुशीला र छत्रमायाले कचौरामा तरकारी र प्लेटमा रोटी राखेर दिए । विद्यार्थीलाई खुवाइसकेपछि शिक्षकलाई पनि खुवाएर भाँडाकुँडा सफा पारी उनीहरु घर फर्किए। सदरमुकाम चरीकोटनजिकको मकैबारी गाउँस्थित हरिकीर्तन आधारभूत विद्यालयमा एउटा कोठामा बनाइएको भान्सामा खाजा पकाउन खटिएका सुशीला र छत्रमायाको उद्देश्य व्यापार गर्नु भने होइन । यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ । विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् । अभिभावकले पालैपालो खाता तयार पार्छन् ।
बालबालिकामा ‘जंक फुड’ को लत लागेपछि विद्यालयको पहलमा अभिभावकले प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ उठाएर भान्सा चलाएका हुन् ।‘प्याकेटका चाउचाउ, बिस्कुट, लेजजस्ता सुक्खा खानेकुरा खाएर हाम्रा बच्चा अस्वस्थ हुने डरले सबैको सल्लाहमा विद्यालयमा भान्सा चलाएका हौं’, सुशीलाले भनिन् । १ देखि ७ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एक सय विद्यार्थी पढ्छन् । तीमध्ये ५५ जना दलित समुदायका छन् । शिक्षक कृष्ण मुग्रातीका अनुसार विद्यार्थी जंक फुडको लतमा फसेपछि अभिभावकको भेलाबाट निर्णय गराएर फागुन १४ देखि भान्सा चलाइएको हो । सूर्योदय प्रतिष्ठाननामक गैरसरकारी संस्थाले पकाइतुल्याइ गर्न नौ हजार रुपैयाँका भाँडाकुडालगायतका सामान किनिदिएको छ । ‘यसलाई दीर्घकालीन बनाउन पछि पनि सहयोग गर्छौं भनेका छन्’, मुग्रातीले भने ।प्रधानाध्यापक हरिहर दाहालका अनुसार विद्यालयमा भान्सा चलाउने निर्णय त गरे तर आर्थिक जोहो कहाँबाट गर्ने भन्ने कुराले विद्यालय प्रशासनलाई पिरल्यो। ‘सबै अभिभावकलाई जंक फुडले बालबालिकाको शरीरलाई भित्रभित्रै खाइरहेको कुरा बुझायौं’, उनले भने, ‘त्यसपछि सबैजना भान्सा चलाउन प्रतिविद्यार्थी दैनिक १० रुपैयाँ दिन र पालो परेको दिन विद्यालयमा आएर खाजा बनाइदिन तयार भए ।’ उनका अनुसार सबै अभिभावकको टेलिफोन नम्बरसहितको विवरण विद्यालय प्रशासनले राखेको छ । ‘खाजा पकाउन पालो परेको कुरा टेलिफोनमा भनिदिन्छौं’, प्रधानाध्यापक दाहालले भने, ‘उहाँहरु ११ बजे आउनुहुन्छ, खाजा पकाएर सबै बच्चालाई खुवाउनुहुन्छ र जानुहुन्छ’ । खाजा बनाउन एकजना अभिभावकको पालो डेढ महिनामा एकपटक आउँछ। विद्यालयमा अभिभावकले चलाएको भान्सामा स्थानीय परिकारमात्रै पाक्छ । ‘अस्ति एक दिन गुन्द्रुक र भात खुवायौं, त्योभन्दा अघिल्लो दिन चाम्रे’, प्रधानाध्यापक दाहालले भने । उनका अनुसार अभिभावकले खिर, सातु, थुक्पा, रोटी, तरकारीजस्ता परिकार पकाउँछन् । दलित र अन्य समुदायका अभिभावक पकाउन आउछन् । विद्यालयको भान्सामा कुनै भेदभाव छैन । भान्सा चलाएपछि विद्यार्थीले जंक फुड खान छाडेका छन् । ‘अहिले त वरिपरिका पसलमा बच्चाले जंक फुड किन्न छाडेका छन्’, शिक्षक मुग्रातीले भने ।भान्सामा दैनिक १२ सयदेखि १४ सय रुपैयाँसम्म खर्च हुने गरेको दाहालले सुनाए।‘अहिले अभिभावकबाट उठाएर खर्च व्यवस्थापन गरेका छौं’, उनले भने, ‘कोही दाता फेला पार्न सके विद्यालयमै रमाइरमाइ स्वस्थ खाजा खाने र पढ्ने वातावरण बालबालिकालाई दिलाउन सक्थ्यौं कि।’विद्यालयमा भान्सा चलेपछि अभिभावक उत्साहित छन् ।‘हाम्रा नानीलाई पसलको खानेकुरा नखुवाउन र स्वस्थ राख्न यस्तो श्रम दैनिक रुपमा गर्न पनि तयार छौं’, अभिभावक सुशीलाले उत्साहित हुँदै भनिन् ।
२०७४ चैत्र ७ गते ८:२० मा प्रकाशित