समाचारमा बालबालिका

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उनी पहिले निजी अस्पतालमा जाँच गर्न पुगे । त्यहाँको सिफारिशमा उनी अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुगेका थिए । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उनले मानसिक रोग विशेषज्ञलाई बताए । त्यहाँ आएपछि मात्र उनले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाए । थापा मात्रै होइन, काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् । इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ । मानसिक अस्पतालमा कार्यरत प्रमुख ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ अनन्त अधिकारीले सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार १० वर्षदेखि १७/१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको उनले औँल्याए । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने,एकोहोरो टोलाउनेलगायतका समस्या पाइएको अस्पतालले जनाएको छ । “विश्वका विकसित देशहरूले बालबालिकामा इन्टरनेटको लतलाई रोगको एउटा प्रकारको रूपमा स्वीकार गरिसके”, उनले भने, “हाम्रो देशमा पनि इन्टरनेटको पहुँच धेरै मानिसम्म पुग्दा यो समस्या बढ्दै गइरहेको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताए । अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिने भन्दै समयमा उपचार गर्न उनले अभिभावकलाई सुझाव दिए । उनले भने, “समयमा उपचार गर्न नसके भोलि गएर ती बालबालिका ‘डिप्रेशन’लगायतका कडा खालका मानसिक रोगका सिकार नहोलान् भन्न सकिँदैन । इन्टरनेटको प्रयोग वयस्क व्यक्तिले धेरै समयसम्म गर्ने भए पनि बालबालिकामा जस्तो उनीहरूमा मानसिक समस्या नदेखिएको अधिकारीले बताए । दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको पाइएको अस्पतालले जनाएको छ । अधिकारीले भने, “बालबालिकामा स्मरणशक्ति हराउँदै जाँदा पहिलेभन्दा पढाइ क्रमशः नराम्रो हुँदै गएको अभिभावक बताउँछन् । उहाँका अनुसार विकसित देशमा जस्तो अहिले नै यो समस्याले ठूलो रूप लिइसकेको छैन । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको यहाँ आउने बालबालिकाको सङ्ख्याले देखाएको छ । उनले भने, “अहिले नै यसको समाधानमा नलागे भविष्यमा ठूलै रूप लिनसक्छ । बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ । देशभरका सरकारी स्वास्थ्य संस्थाले मानसिक समस्याको उपचारका लागि मानसिक स्वास्थ्यको केन्द्रीय अस्पतालका रूपमा उक्त अस्पतालमा सिफारिश गर्दै आएका छन् । विभिन्न निजी अस्पतालले सेवा शुरु गरे पनि यहाँ आउने बिरामी वर्षेनी बढिरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक औसत १५० सम्म बिरामी आउने गरेका छन् । भर्ना हुने बिरामीका लागि अस्पतालमा रहेको ५० शय्या पनि सधैँ भरिने गरेको छ ।

२०७५ माघ २३ गते प्रकाशित