अल्पसंख्यक समुदायका बालबालिका विद्यालयबाहिरै
सरकारले भर्ना अभियान र अभिभावकत्व ग्रहणको कार्यक्रम सञ्चालन गरे पनि बाँकेका अल्पसंख्यक मगन्ता, चिडिमार, खटिक, घसियार र थत्थरकट्टा (कुचबधिया) समुदायका बालबालिका अझै विद्यालयबाहिर रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण पोसाक, स्टेसनरीलगायत विद्यालय सामग्री किन्न नसक्दा ती समुदायका विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालयबाहिर रहेका हुन् । डुडुवा गाउँपालिका– ६, मगन्ता टोलमा विद्यालय जाने उमेर समूहका ६० भन्दा बढी बालबालिका छन् । तर, अहिले जम्मा २० बालबालिका मात्र विद्यालय भर्ना भएको सोही गाउँका अगुवा आज्ञाराम मगन्ताले बताए । उनले आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय नगएको बताए । आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीलाई विद्यालय भर्ना गर्न नसकेको मगन्ता टोलका काशीराम मगन्ताले बताए । उनका चार छोरा र एक छोरी छन् । अहिलेसम्म कुनै पनि छोराछोरी विद्यालय भर्ना भएका छैनन्, जाऊ भन्दा पनि मान्दैनन्,’ उनले भने । मागेर खाने पुरानो पेसा भएका सो समुदायका बालबालिका घरमै बसेर दिन बिताउने गरेका छन् । विद्यालय समयमा घरायसी काम गरिरहेकी दश वर्षीया सुजाता मगन्ताले अहिलेसम्म विद्यालय भर्ना नभएको बताइन् । उनले जान मन लागे पनि विद्यालय पोसाक र अन्य विद्यालय सामग्री नभएकै कारण विद्यालय जान नसकेको बताइन् ।
उपमहानगरमै विद्यालयबाहिर छन् बालबालिका
नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका चिडिमार बालबालिका पनि विद्यालयबाहिर छन् । विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिर रहेको स्थानीय हौसिलाल चिडिमारले बताए । उनले भर्ना अभियानका क्रममा बालबालिका भर्ना भए पनि बीचमै विद्यालय छाड्ने गरेको बताए । पत्थरकट्टा समुदायका बालबालिका पनि दिनभर घरमै समय बिताउने गरेका छन् । जाँतो, सिलौटा र सनपाटको डोरी बिक्री गर्ने पत्थरकट्टा समुदायका बालबालिका भाइबहिनीको रेखदेख गर्ने र गुच्चा खेलेर दिन बिताउने गरेको नन्कौ कुचबधियाले बताए । दुई सयको हाराहारी जनसंख्या रहेको पत्थरकट्टा समुदायका कसैले पनि एसएलसीरएसइई उत्तीर्ण नगरेको उनले बताए ।
बीचैमा पढाइ छोड्छन् मगन्ता बालबालिका
मगन्ता टोलका १३ वर्षीय सन्जु माहुत एक कक्षामा भर्ना भए पनि पढ्दापढ्दै विद्यालय छाडे । पढ्दै गर्दा कामका लागि पञ्जाव गएपछि विद्यालय जान छोडेको उनले बताए । उनले अब विद्यालय नजाने बताए । अब विद्यालय जान्नँ, यो उमेरमा पढेर के गर्ने ?’ उनले भने । सोही ठाउँका रतन मगन्ताले पनि एक कक्षा पढ्दै गर्दा पढाइ छोडेको बताए । विद्यालय भर्ना भए पनि वार्षिक परीक्षा नै दिएनन् । त्यसपछि नाम नै नलेखाएको उनले बताए । मगन्ता समुदायका बालबालिका विद्यालय भर्ना भए पनि नियमित रूपमा विद्यालय जाँदैनन् । भर्ना भएको केही दिन विद्यालय जाने र बीचमै विद्यालय छोड्ने गरेको सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराज मिश्रले बताए । उनले वार्षिक परीक्षासम्म एक–दुईजना विद्यार्थी मात्र सामेल हुने गरेको बताए । छात्रवृत्ति र पुस्तक लिने वेला मात्र विद्यालय आउँछन्, अघिपछि विद्यालय नै आउँदैनन्, उनले भने । चिडिमार र पत्थरकट्टा समुदायका बालबालिकाले पनि बीचमै पढाइ छोड्ने गरेका छन् । बीचमै पढाइ छोडेका कारण यी समुदायबाट उच्च शिक्षासम्म अध्ययन गर्ने संख्या एकदमै न्यून रहेको शिक्षा विकास समिति तथा समन्वय इकाइका अधिकारीको भनाइ छ ।
सूचीकृत नहुँदा बालबालिकाको शिक्षामा समेत असर
मगन्ता समुदाय अल्पसंख्यक समुदायभित्र पर्दछ । चिडिमार, खटिक र थत्थरकट्टा (कुचबधिया) समुदाय सूचीकृत भए पनि मगन्ता समुदाय अझै सूचीकृत हुन सकेको छैन । सूचीकृत समुदायले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । तर, अल्पसंख्यक समुदायभित्र पर्ने मगन्ता समुदाय सूचीमा नपरेकै कारण राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो छ । यसको असर बालबालिकाको शिक्षामा समेत परेको गुनासो छ । साँझ, बिहानको छाकको जोहो गर्न मुस्किल छ, बालबालिकालाई पढाउन सक्ने कुरा भएन, अगुवा आज्ञाराम मगन्ताले भने ।
९५ परिवारमा दुईजनाको मात्र एसइई
डुडुवा गाउँपालिका–६, मगन्ता टोलमा ९५ परिवारको झन्डै पाँच सय जनसंख्या छ । तर, यो बस्तीका जम्मा दुईजनाले मात्र एसएलसी (एसईई) उत्तीर्ण गरेका छन् । विद्यालय जाने उमेर समूहका बालबालिका फोहोर संकलन गर्ने र मजदुरी गर्ने गर्दै आएका छन् । पाँच वर्षसम्मका बालबालिका घरमै हुने र ठूलो भएपछि कवाड संकलन र मजदुरी गर्न जाने गरेका छन् ।
२०७५ जेठ ९ गते प्रकाशित