समाचारमा बालबालिका

विद्यालय जाने बालबालिका बढे

चौतारा साँगाचोकगढी नगरपालिकाको भीमटार माझीगाउँको माथिल्लो टोलकी निलमाया माझीले छोरालाई पढ्न पठाउन थालेकी छन् । पढाइको महत्त्व बुझेपछि छोरालाई हालै विद्यालयमा भर्ना गरेको उनले बताइन् । त्यतिमात्र होइन, आफ्नो छोरालाई विद्यालयमा भर्ना गरेपछि माझीले गाउँलेलाई शिक्षाको महत्त्व र अभियानबारे समेत सम्झाउने गरेको बताइन् । ‘पढेर के हुन्छ र रु भन्ने सोचेको थिए तर पढाइ ठूलो कुरा रहेछ,’ माझीले भनिन्, ‘दुवै छोरालाई भर्ना गरेर अब पढाउने अभिभारा लिँदै छु ।’उनले आफूले नपढेर दुस्ख पाएपछि छोरालाई विद्यालय पठाउन थालेको बताइन् । ११ वर्षका छोरालाई विद्यालय भर्ना गरेपछि सुनौलो भविष्य हुने उनको विश्वास छ । तल्लो गाउँका रामबहादुर माझीले छोरी सुबिनालाई भर्ना गरेर खुब हर्षित देखिए । सन्तानलाई अध्ययनको सट्टा घर कुर्न लाउने माझीगाउँमा छोरीलाई विद्यालय भर्नाका लागि नाम लेखाएको बताए । ‘बल्ल भर्ना र यसको उद्देश्यबारे बुझेँ, यसबारे महसुस भएलगत्तै छोरीलाई पढाउन भर्ना गरेको हुँ,’ उनले भने । ‘पराई जात’ भनेर छोरीलाई विद्यालय नपठाउने कुप्रवृत्तिलाई आफूले चिर्दै लैजान यसो गरेको उनको भनाइ छ ।

‘म मात्रै होइन, पल्लो झयाडीटोल, एक्लेफाँटदेखि भीमटारभरका माझीले बालबालिकालाई भर्ना थालेका छन्,’ उनले भने । दुई घण्टाको फरकमा पुगिने तीनै माझीगाउँमा ३ आधारभूत विद्यालय छन् । देशव्यापी भर्ना अभियान सुरु भएसँगै विद्यालयमा माझी गाउँलेले छोराछोरी भर्ना गरेर पढ्न पठाउन थालेका छन् । ‘पढ्नुपर्छ भन्ने सचेतना पलाउँदै गएपछि अहिले यहाँका माझीपरिवार आफंै भर्ना अभियानमा सघाउन थालेका छन्,’ भीमटारको माझीगाउँस्थित इन्द्रावती आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण तिमल्सिनाले भने । कुनै बेला शिक्षा, शिक्षकलाई अनावश्यक मान्ने माझीपरिवारले हालै अध्यापनको महत्त्वलाई बुझेर छोराछोरीलाई भर्ना गराउन थालेका छन् । ‘दुई वर्षलगत्तै अध्ययन गर्न आउने विद्यार्थी ह्वात्तै बढ्दै गएका छन्, शैक्षिक अभियान सफल हुँदै गइरहेको छ,’ २५ वर्षदेखि प्रधानाध्यापकीय अनुभव बटुलेका तिमल्सिना भन्छन्, ‘वार्षिक ५ प्रतिशतको दरले विद्यार्थी बढिरहेका छन् ।’ माझीपरिवारको मात्रै बसोबास रहेको गाउँको इन्द्रावती आधारभूत विद्यालयमा २ वर्षअघि ३ सय ५० बालबालिका पढ्न आउँथे । सचेतना नपुगेको कारणले अध्ययन गरिरहेका ती बालबालिकालाई टिकाउन मुस्किल बनेको भए पनि अब त्यो समस्या सुल्झनेमा उनी आशावादी छन् ।

 २०७५ वैशाख ७ गते ९:४१ मा प्रकाशित