समाचारमा बालबालिका

खाजाले बढे विद्यार्थी

मुना चेपाङ अहिले ८ कक्षामा पढ्दै छिन् । उनले ३ कक्षामा भर्ना भएर पढ्न छाडेकी थिइन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि एक वर्ष पढन छाडेर अर्को वर्षदेखि पढन आएकी हुन् । १६ वर्षीया मुना अहिले नियमित रूपमा पढन आउने गर्छिन् । उनी मात्र होइन, राक्सिराङ गाउँपालिका ६ की निलम चेपाङ पनि बीचैमा पढाइ छाडेकी थिइन् । ४ वर्षदेखि स्कुलमा पढ्न आउने गरेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मुना र निलम मात्र होइन, खाद्यान्न, पोसाक र शैक्षिक सामग्रीको अभावमा पढाइ बीचैमा छाडेकाहरू पुनः भर्ना भएर नियमित स्कुल आउने गरेका छन् । बीचैमा छाडेका मात्र होइन, गाउँका अधिकांश बालबालिकाहरू स्कुलमा नियमित आउने गरेका छन् । ‘दिवा खाजाका कारणले विगत केही वर्षदेखि स्कुलमा भर्ना दर पनि बढेको छ, ड्रप आउट झन्डै शून्यमा झरेको छ,’ राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘स्कुलमा नियमित खाजाको व्यवस्था गरेकाले विद्यार्थीको संख्या बढेको हो ।’ एक कक्षादेखि १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ७ वर्षअघि मुस्किल सय जना पनि विद्यार्थीे थिएनन् । अहिले झन्डै ५ सय जनाको हाराहारीमा विद्यार्थी छन् । मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको स्कुलमा दिवा खाजाको प्रभाव सकारात्मक रूपमा परेको छ । दिवा खाजाका कारणले स्कुलमा भर्ना हुने दर बढेको छ भने, ड्रप आउट हुने दर ह्वात्तै घटेको छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिको ६, ७ र ८ नम्बर वडाका एक माविसहित १६ स्कुलका विद्यार्थीलाई विगत ७ वर्षदेखि दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी सस्थाले स्कुलमा खाजा खुवाउने गरेको छ । संस्थाको सहयोगमा स्कुलले २ दिन खिचडी र चार दिन तरकारी चिउरा खुवाउन गरेको छ । १६ स्कुलका २ हजार ७ सय ९ विद्यार्थी र ६ वटा ईसीडीका ३ सय ५ जना बालबालिकालाई दिवा खाजा खुवाउँदै आएको छ । स्कुलमा खाजाको व्यवस्था भएपछि विद्यार्थीेको भर्नादर बढेको छ, बीचैमा पढाइ छाड्ने र भोकका कारण हाफ टाइममा स्कुलबाट भाग्ने प्रवृत्ति ठ्याक्कै रोकिएको छ, काँकडा धिराङस्थित आधारभूत विद्यालयका प्रअ बाबुलाल घलानले भने, ‘दिवा खाजाको प्रभाव विद्यालयमा राम्रो परेको छ ।’ मकवानपुरको सबैभन्दा दुर्गम क्षेत्र धिराङ हो । बाबुआमालाई पैसा दिँदा दुरुपयोग हुने, विद्यार्थीलाई स्कुलमा खाजा दिँदा पढाइमा निरन्तरता हुने र पोषणको समस्या पनि नहुने उनले भने । उक्त क्षेत्रको स्कुलमा विगत २०६८ सालदेखि उक्त संस्थाले दिवा खाजाको व्यवस्था गरेकाले चेपाङ विद्यार्थीको संख्या हवात्तै बढनुको साथै बीचैमा पढन पनि छाडेका छैनन् । राक्सिराङ गाउँपालिकाका ३ वडाका शतप्रतिशत बालबालिका स्कुलमा भर्ना हुने गरेका छन् । ‘ड्रप आउट’ पनि छैन सिलिङेस्थित राष्ट्रिय माविका प्रधानाध्यापक दुवाडीले भने । उक्त संस्थाले विद्यार्थी संख्याको अनुपातमा शिक्षक नभएकाले निजी क्षेत्रबाट राखिएका २२ वटा शिक्षकलाई मासिक रूपमा तलब उपलब्ध गराउँदै आएको छ । चेपाङ, दलित र तामाङ समुदायका १ हजार ३३ जना छात्रछात्रालाई वर्षको २ जोर कपडा, ३ जोर चप्पल र शैक्षिक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । उक्त संस्थाले उक्त क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त ५ वटा विद्यालयको भवन पुनर्निर्माण गर्दै छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अभिभावकलाई खाजाको पैसा दिनेभन्दा पनि स्कुलमा नै खाजा खुवाउने गरियो भने प्रभावकारी हुने रहेछ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था गर्नुपर्छ ।

पैसा दिँदा प्रभावकारी भएन 
चेपाङ समुदायलगायत लोपोन्मुख एवं सिमान्तकृत समुदायका विद्यार्थीलाई स्कुलमा आकर्षित गर्ने उद्देश्यले सरकारले विगत ४ वर्षदेखि दिवा खाजा निम्ति रकम उपलब्ध गराउँदै आएको छ । तर त्यो प्रभावकारी हुन सकेको छैन । शिक्षा कार्यालयले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ दिने गरेको छ । अधिकांश विद्यालयले उक्त रकम अभिभावकलाई दिने गरेका छन् । अभिभावकले उक्त रकम दुरुपयोग गर्ने गरेका छन् । केही स्कुलका शिक्षक र व्यवस्थापन कमिटीको सक्रियतामा उक्त रकमबाट स्कुलमा नै दिवा खाजा खुवाउने गरेका छन् । जसको प्रभाव विद्यार्थीमा राम्रो परेको छ । अभिभावकलाई रकम उपलब्ध गराउदा प्रभाव त्यति राम्रो परेको छैन । केही स्कुलले पढ्न आउने चेपाङ विद्यार्थीलाई उक्त रकमको खाजा नदिएर अभिभावकलाई नै पैसा दिने गरेका छन् । चेपाङ विद्यार्थीको दिवा खाजाको निम्ति सरकारले उपलब्ध गराएको रकम अभिभावकले चुरोट र मादक पदार्थ सेवन गर्ने गरेका छन् । चेपाङ समुदायका बालबालिकालाई स्कुलमा प्रवेश गराएर नियमित विद्यालयमा पढन आउने वातावरण सृजना गर्ने उद्देश्यले सरकारले दिवा खाजाका निम्ति प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालय व्यवस्थापन कमिटी र शिक्षक परिवार उदासिन भएका कारणले चेपाङ बालबालिकालाई उक्त रकमले प्रभाव पार्न सकेको छैन । ‘स्कुलमा नै दिवा खाजा बनाएर खान दिने व्यवस्था भएको भए यसको प्रभाव राम्रो पर्थ्यो,’ भार्ताका महेश चेपाङले भने, ‘अभिभावकलाई रकम दिएर दुरुपयोग भएको छ । खाद्यान्न अभावले गर्दा मकवानपुरका अधिकांश चेपाङ बालबालिकाहरू स्कुल भर्ना भए पनि बीचमा नै छाड्ने गर्छन् भने केही त भर्ना नै हुँदैनन् । खाद्य सुरक्षाको अभावले गर्दा मकवानपुरका चेपाङ समुदायका बालबालिकाहरू स्कुलमा भर्ना हुँदैनन्, भएकाहरू पनि बीचैमा पढन छाड्ने गरेका छन् । वर्षमा एक सय ८० दिनभन्दा बढी नहुने गरी चेपाङ विद्यार्थीलगायत लोपोन्मुख र सिमान्तकृत समुदायका विद्यार्थीलाई खाजा खर्चको रकम उपलब्ध गराउने गरेको छ । चेपाङ, वनकरिया, बोटे, दनुवार, माझी, दराई, खातुन, थामी समुदायका विद्यार्थीलाई खाजा रकम उपलब्ध गराउने गरेको छ।

२०७५ फागुन ११ गते ७:५० मा प्रकाशित