समाचारमा बालबालिका

बलात्कारका घटना बढे

जिल्लामा बलात्कारका घटना बढेको छ । तीन वर्षको अवधिमा ३२ जना बलात्कृत भएका हुन् । बलात्कारका घटना बर्सेनि वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले कार्ययोजना नै बनाएर यसविरुद्ध अभियान सुरु गरेको छ । रहरीमा बलात्कारका उजुरीको संख्या बढ्न थालेपछि प्रहरी कार्यालयले मातहतका समेत प्रहरी परिचालन गरी सूक्ष्म ढंगले न्यूनीकरण प्रयास सुरु गरेको प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए । त्यसका लागि प्रहरीले जिल्लामा कार्यरत विभिन्न संघसंस्था, क्लव, महिला सञ्जाल, महिला समूह विद्यार्थी, शिक्षक लगायत समेतको सहयोग, समन्वय र सहकार्यमा तीन महिने चेतनामूलक अभियान नै सुरु गरेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ३२ जना बालिका र युवती बलात्कृत भएको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । बलात्कारका घटना न्यूनीकरणका लागि ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना’ नाम दिएर जिल्लाभर सचेतना अभियान सुरु गरिएको प्रनाउ भुजेलले बताए । प्रहरीका अनुसार चालु आवमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका १३ वटा घटना भएका छन् । बालिका र युवती गरी ११ जना बलात्कृत भएका र २ जना बालिकामाथि जबरजस्ती करणी उद्योग भएको प्रहरीले जनाएको छ । जिल्लामा आव ०७२/७३ मा ६ जना बालिकासहित युवती बलात्कृत र ६ जनामाथि जबरजस्ती करणी उद्योग भएको थियो । अघिल्लो आव ०७३/७४ मा भने यो संख्या केही घटेको छ । यो वर्ष ६ जना बालिका र युवती बलात्कृत भएको र १ जनामाथि जबरजस्ती करणी प्रयास भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा बलात्कृत हुनेमध्ये अधिकांश १० देखि २० वर्ष उमेर समूहका बालिका र युवती छन् ।

२० वर्षभन्दा माथिका पनि केही महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । सदरमुकामबाट दूरीका हिसावले सबैभन्दा टाढा रहेको आठराई गाउँपालिकामा सबैभन्दा बढी १३ बलात्कारका घटना भएका छन् । त्यसपछि छथर गाउँपालिका र लालीगुराँस नगरपालिकामा ६र६ वटा बलात्कारका घटना भएका छन् । फेदाप गाउँपालिकामा ४, म्याङलुङ नगरपालिकामा २ र मेन्छ्यायाम गाउँपालिकामा एउटा बलात्कारका घटना भएका छन् । स्थानीय तहलाई आधार मान्दा गत आव ०७३/७४ मा क्षेत्रफलमा समेत सानो रहेको मेन्छ्यायाम गाउँपालिकामा एक जना मात्र बलात्कृत भएका छन् । प्रहरीको अध्ययनले तीन वर्षमा चैत महिनामा बढी बलात्कारका घटना भएको देखाएको छ । त्यसपछि मंसिर र फागुन महिनामा बालिका र युवती बलात्कृत भएको प्रहरीको रेकर्ड छ । प्रहरीले कुन बारमा बढी बलात्कारका घटना हुन्छन् रु भनेर समेत अध्ययन गरेको छ । अध्ययनले सोमबार बलात्कारका घटना बढी भएको देखाएको छ । त्यसपछि आइतबार र बिहीबार पनि बढी नै बलात्कारका घटना भएका छन् । प्रनाउ भुजेलका अनुसार सोमबार जिल्लाका विभिन्न ग्रामीण स्थानमा साप्ताहिक हाटबजार लाग्ने र हाटबजारमा युवाहरूले मादक पदार्थ सेवन गरी यस्ता घटना गराएको देखिएको छ । चैत महिनामा बलात्कारका घटना बढी हुनुको कारण बारे प्रहरीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ । बलात्कार र बलात्कार जन्य घटना न्यूनीकरणका लागि प्रहरी जिल्लाका ६ वटै स्थानीय तहमा पुग्ने योजनाका साथ लागेको छ । विद्यालय, क्याम्पस, जोखिमयुक्त बस्ती, ग्रामीण हाटबजार लगायतका क्षेत्रमा चेतनामूलक कार्यक्रम लिएर पुग्ने तयारी थालिएको प्रहरीले जनाएको छ । अभियानमा सहयोग गर्न प्रहरीले जिल्लाबासीसँग अनुरोध गरेको छ । ‘मातहतका प्रहरीसमेत परिचालन गरेर जिल्लाभर अभियान सञ्चालन गरिरहेका छौं,’ प्रहरी नायव उपरीक्षक भुजेलले भने । अभियानमा बलात्कृत हुनबाट कसरी जोगिने, कस्तो अवस्था र समयमा बलात्कारका घटना बढी हुन्छन्, जबरजस्ती करणी गर्नेलाई कस्तो कानुनी कारबाहीको व्यवस्था छ, बलात्कृतलाई कसरी समाजमा पुनस्स्थापित गराउने लगायतका विषयमा जानकारी गराउने प्रहरीले जनाएको छ ।

२०७४ चैत्र २६ गते ८:५० मा प्रकाशित