समाचारमा बालबालिका

लगातार बलात्कारका घटना बढ्दै, छिमेकी र सहोदरबाटै असुरक्षित

२९ फागुन : बा.५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै झापाकी १७ वर्षीया युवती सामूहिक बलात्कृत । २७ फागुन : शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी १८ वर्षीया दलित युवतीलाई गाउँकै चारजना छिमेकी युवकद्वारा बन्धक बनाई बलात्कार । २६ फागुन: विष्णुपुर गाउँपालिका–७ की ३१ वर्षीया एक दलित महिलाको सामूहिक बलात्कार ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । गत फागुनमा मात्रै सप्तरीमा नौवटा बलात्कारका घटना भएको प्रहरीको भनाइ छ । एक तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्म सप्तरीमा ३१ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये २० वटा बलात्कार र ११ वटा बलात्कार प्रयास छन् । प्रहरीसम्म नआएका घटना पनि प्रशस्तै छन् । बलात्कारजस्तो जघन्य अपराधलाई पनि गाउँमै मिलाउने कामसमेत हुने गरेको छ । अधिकांश बलात्कार घटनामा छिमेकी युवाहरूको संलग्नता देखिएको छ । सहोदर काकाका छोराले बहिनीलाई नै बलात्कार गरी हत्या गरेको पनि देखिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार बलात्कार र बलात्कार प्रयासका घटनामा संलग्न रहेमध्ये ३९ जनालाई गत साउनदेखि हालसम्म पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ । ‘जिल्लामा बलात्कारका घटना बढ्न थालेपछि विशेष सुरक्षा रणनीति अवलम्बन गरिएको छ,’एसपी सिंहले भने, ‘प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले यतिवेला गाउँ–बस्ती पुगेर बलात्कारका घटना न्यूनीकरण र कारबाहीसम्बन्धी चेतनामूलक कार्यक्रम, छलफलसमेत गर्न थालिएको छ ।

बलात्कारबाट १३ वर्षीया गर्भवती
बलात्कारबाट १३ वर्षीया बालिका गर्भवती भएको खुलेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकाकी ती बालिकालाई स्थानीय गेनाई रामले २२ मंसिरदेखि पटक–पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जबर्जस्तीकरणीबाट बालिका गर्भवती भएपछि आमाले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

१३ लाखमा घटना लुकाउन खोजियो
१४ फागुनको राति सुरुंगा नगरपालिकाकी १६ वर्षीया युवतीलाई चारजनाले बलात्कार गर्न खोजेको घटनालाई १३ लाख ५० हजार रुपैयाँ दिएर मिलाउन खोजिएको छ । बलात्कार गर्न खोजेकै राति गाउँका केही टाठाबाठाले पीडित परिवारले कानुनी उपचार नखोज्ने र पीडकले पैसा दिने गरी पीडित युवतीकी आमाको नाममा कपाली तमसुक बनाइयो । उक्त तमसुकको साक्षीमा स्थानीय मिश्रीलाल खत्वे र नारायण साहले औँठाछाप लगाए । तर, तमसुक गरेर गाउँमै घटना मिलाएको सूचना आएपछि चारै आरोपीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको सप्तरीका एसपी मुकेश सिंहले बताए ।

२०७४ चैत्र ६ गते प्रकाशित