समाचारमा बालबालिका

बलात्कारका मुद्दा बढे

केही दिन पहिले १४ वर्षीया बालिका बलात्कृत भएको घटनाको उजुरी प्रहरीमा आयो । चापाकोटकी कक्षा ७ मा पढ्ने बालिकालाई उनकै शिक्षकले बलात्कार गरेको आरोप छ । गत चैतमा बलात्कृत भएकी उनलाई पीडकले प्रलोभन दिएर चुप लगाएका थिए । दोस्रोपटक पुनस् घटना दोहोर्‍याएपछि उनले वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिइन् । त्यसै साता पुतलीबजारकी १७ वर्षीया किसोरी आफन्तबाटै बलात्कृत भइन् । पुतलीबजारमै २० वर्षीया एक महिला बलात्कृत भएको घटना प्रहरीमा आयो । आफन्तले फकाईफुल्याई जबर्जस्ती करणी गरेको भन्दै उनले जिल्ला प्रहरीमा उजुरी दिएकी छन् । आरोपीलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । वालिङकी १३ वर्षीया एक बालिका सामान किन्न किराना पसल जाने क्रममा पसलेबाटै जबर्जस्तीमा परिन् । आफन्तकहाँ बसेर पढ्दै आएकी बालिकालाई गाउँमै केही रकम दिई घटना बाहिर नल्याउन समाजका केहीले दबाब दिए । घटना थाहा पाएपछि समाजका केही अगुवाले वडा प्रहरी कार्यालय वालिङमा मुद्दा दर्ता गराए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा जबर्जस्ती करणीका घटना बढ्दो छ । २० दिनको अन्तरालमा स्याङ्जामा ७ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६ वटा जबर्जस्ती करणी र एउटा जबर्जस्ती उद्योगका छन् । ‘जबर्जस्ती करणी र उद्योगका मुद्दा दर्ता गर्न पीडित नै मान्दैनन्,’ जिल्ला प्रहरी प्रमुख एस्पी जयराज सापकोटा भन्छन्, ‘२० दिनमा ४ वटा मात्रै थिए । हामीले पीडितलाई सम्झाएपछि ३ मुद्दा दर्ता भएका हुन् ।’ पीडितका आफन्तहरू नै आएर घटना बाहिर नल्याई मिलाइदिन आग्रह गर्ने गरेको पाइएको उनले बताए ।

२०७५ जेठ २५ गते १२:०९ मा प्रकाशित