समाचारमा बालबालिका

बढ्दै जघन्य अपराध

बौधीमाई नगरपालिका ७ सरमुजवा का २४ वर्षीय शेख ओसिअख्तरले गाउँकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ। गत फागुन १ र ३ गते राति किशोरी सुत्ने कोठामा अख्तर प्रवेश गरी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । किशोरीकी आमाले अख्तरका बुबालाई त्यस विषयमा भन्न जाँदा उल्टै खप्की खानुपरेको पीडितको भनाइ छ। किशोरीका बुवाको मृत्यु भइसकेको छ । घरमा आमा र किशोरीमात्र छन् । आमा माइत गएको र घरमा किशोरी बाहेक अरु कोही नभएको मौका छोपी अख्तरले किशोरीलाई दुई रात जबरजस्ती करणी गरेका हुन्। जबरजस्ती करणीकै कारण किशोरीको महिनाबारी रोकिएको छ । महिनाबारी रोकिएपछि पीडित किशोरीले शुक्रबार आमासँगै जिल्ला प्रहरी कार्यालय पुगी लिखित उजुरी दिएकी हुन्। यस्तै गत फागुन १५ गते गढीमाई नपा ६ की ३ वर्षीया बालिकालाई छिमेकी १६ वर्षीय छोटेलाल भनिने शेख फैजानले घरनजिकैको परालको कुन्युमा लगी बलात्कार गरेका थिए । बलात्कारले बालिकाको गुप्तांग च्यातिएर बेहोस भएकी थिइन् । बालिकाका हजुरबा परालको कुन्युमा केही गडबड भएको लागेपछि हेर्न जाँदा नातिनीको हालत देखेर चिच्याएका थिए । बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा छ । युवकलाई छुटाउन केही स्थानीय नेताले घटनालाई मेलमिलापमा टुंग्याउने प्रयास गरिरहेका छन् । हिँडडुल राम्ररी गर्न नसक्ने अवस्थामा बालिकाको उपचार वीरगन्जमा भइरहेको छ।

यसैगरी गत फागुनको पहिलो साता गढीमाई ३ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको थियो । बलात्कारमा परेकी बालिकाको उपचार भएको छ तर प्रहरीकै सहयोगमा भगाइएको अपराधी भने पक्राउ पर्न सकेको छैन । बलात्कारका आरोपी गरुडा नपा बिर्ताका शेख इब्रान फरार छन् । इब्रानलाई जनप्रतिनिधिको संरक्षण रहेको पीडित पक्षको आरोप छ। चालू आर्थिक वर्षमा जिल्लामा जबरजस्ती करणीसम्बन्धी १२ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बलात्कारमात्र होइन, हत्या र गोली प्रहारजस्तो जघन्य अपराध पनि जिल्लामा बढेको पाइएको छ।  गत असोज ९ मा परोहा नपा २ जिंगडबा बेलबिछवामा अकबर भन्ने अब्बु स्वयबको गोली हानी हत्या र असोज १२ गते मौलापुर नपाका देवेन्द्र साहको गोली हानी हत्या भएको थियो । यसैगरी माघ ९ गते राजपुर नगरपालिका ९ बलुवाटोलका ६ वर्षीय मफुजा देवानको घाटी रेटेर हत्या भएको थियो भने त्यसको एक हप्ता नबित्दै माघ १५ मा राजपुर नपा बैरियाका शेख सैफुल्लामाथि गोलि प्रहार भएको थियो । गत शुक्रबार राजपुर नपा ३ बलुवाका कुखुरा व्यवसायी शेख सलिममाथि गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको हालसम्म २ सय ३६ उजुरी दर्ता भएका छन्, जसमध्ये १२ वटा जबरजस्ती करणी र २२ वटा कर्तव्य ज्यानसम्बन्धी छन् । यो आर्थिक वर्षमा १ सय ६१ फरार अभियुक्तमध्ये २४ जना पक्राउ परेको र १ सय ३७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताएका छन्। भारतसित सिमाना जोडिएका कारण रौतहटमा अपराध बढेको स्थानीयको भनाइ छ । खुला सिमाना भएका कारण रौतहटमा अपराध गरी भारततिर पलायन हुने र भारततिर अपराधिक गतिविधिमा संलग्नले रौतहटमा शरण लिने गरेको देखिएको छ । खुला नाका भएका कारण नेपालका अपराधीका लागि भारततिर र भारतका अपराधीका लागि नेपालतिर शरण लिन सजिलो भएको नेपाल प्रहरीका पूर्वसई जिवछ मण्डलले बताए।

 २०७४ फागुन २८ गते ७ : ५४ मा प्रकाशित