समाचारमा बालबालिका

बढ्यो बाल बिज्याइँ

आपराधिक घटनामा बालबालिकाको संलग्नता बढेपछि न्यायिक निकायले चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय बाल न्याय समन्वय समितिका संयोजक एवं सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले परिवार जिम्मेवार नहुँदा बालबालिका जबर्जस्ती करणी (बिज्याइँ) मा संलग्न भइरहेको बताए । उचित मार्गदर्शन, पारिवारिक माया, हेरचाह र शिक्षा अभावले घटना बढिरहेको उनले बताए । ‘बालबालिकालाई कसरी सुधार्ने भन्ने मुख्य चुनौती छ । अभिभावक जिम्मेवार नहुँदासम्म बचाउन गाह्रो हुन्छ,’ घोराहीमा आयोजित अन्तक्र्रियामा उनले भने, ‘बाल मनोविज्ञानमा गलत प्रवृत्ति भरिँदै जाँदा आपराधिक क्रियाकलाप बढेका हुन् । बालबालिकालाई सजिलै फकाउन सकिने भएकाले अपराधीले पनि उनीहरूलाई प्रयोग गरिरहेका छन् । एक वर्षमा जबर्जस्ती करणी, चोरी र लागूऔषधमा ६, सडकमा बसेर चोरी गर्दै हिँड्ने १४, अलपत्र अवस्थाका ३ र हराएका १ सय ६४ बालबालिका रहेको जिल्ला प्रहरीका निरीक्षक राजनकुमार गौतमले बताए । ४ वर्षमा जबर्जस्ती करणीमा ७, जबर्जस्ती करणी उद्योगमा २, चोरीमा ८ र लागूऔषध ब्राउन सुगरमा २ बालबालिका संलग्न भएको उनले जानकारी दिए ।

अभिभावकको उचित ध्यान नपुग्दा धेरै बालबालिका घर छाडेर हिँड्ने र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनले बताए । हराउने क्रम प्रत्येक वर्ष बढिरहेको छ । ३ वर्षअघि १ सय १४ बालबालिका हराएकामा गत वर्ष १ सय ४३ र यस वर्ष १ सय ६४ हराएको गौतमले जानकारी दिए । पारिवारिक विखण्डन, गलत संगत, अशिक्षा, गरिबी र आर्थिक प्रलोभनका कारण बालबालिका आपराधिक क्रियाकलापमा संलग्न भइरहेको गौतमले बताए । ‘आपराधिक क्रियाकलापमा संलग्न बालबालिकाका अभिभावक सम्पर्कमै आउन चाहँदैनन् । यसले घरपरिवारमा पुनस्स्थापना गर्न कठिनाइ भएको छ,’ उनले भने, ‘बालसुधार गृह नहुँदा र अभिभावकको जिम्मा लगाएका बालबालिका फेरि फर्केर सडकमा आउँदा समस्या झन् जटिल भइरहेको छ ।’ उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश नहकुल सुवेदीले बाल बिज्याइँ बढ्दा सुधारगृह नै भरिभराउ भइरहेको बताए । ‘सुधारगृहमा राख्ने ठाउँ छैन । अब बिज्याइँमा संलग्न बालबालिका कहाँ पठाउने भन्ने समस्या भइसकेको छ,’ उनले भने, ‘बालबालिकालाई मैत्रीपूर्ण तरिकाले न्यायिक प्रक्रिया थाल्नुपर्ने हुन्छ । उनीहरूलाई सुधार गर्ने मनसायले काम गर्नुपर्छ तर सुधार्न समस्या भइरहेको छ ।’ पारिवारिक बेवास्ताले नै बालबालिका बिज्याइँमा संलग्न भइरहेको उनले बताए । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलका अनुसार बालबालिकालाई सुधार्न समाजका सबै पक्ष जिम्मेवार हुनुपर्छ । आपराधिक गतिविधिमा बालबालिकाको संलग्नता बढ्नु राम्रो संकेत नभएको उनले बताए । जिल्ला अदालतमा बालबालिका संलग्न अपराधका घटना निरन्तर आइरहेको र त्यसलाई बालमैत्री वातावरणमा निरूपण गरिरहेको उनले जानकारी दिए । अधिवक्ता गोमा महराले बाल बिज्याइँका घटना नियन्त्रण गर्न ठूलो चुनौती रहेको बताउँदै सडक बालबालिकाको संख्या बढ्दै गइरहेको र त्यसले बिज्याइँका घटनामा वृद्धि गरिरहेको उल्लेख गरिन् । बालबालिकालाई न्याय दिँदा विभिन्न बाल अनुकूल तरिकाहरू अपनाउन जरुरी रहेको महराले बताइन् ।

२०७५ असार १७ गते १०:१२ मा प्रकाशित