समाचारमा बालबालिका

किशोरी आमा बढे

बच्चाले दूध मागेको कुरा बुझ्न नसक्ने अवस्थाका किशोरी यहाँ आमा बनेका छन् । ‘अस्पतालमा सुत्केरी गराउन आउनेमध्ये ३० देखि ४० प्रतिशत आमा २० वर्ष मुनिका भेटिन्छन्, मन्थली प्राथमिक केन्द्रकी प्रमुख डा. निलिजा शाक्यले भनिन्, रामेछापमा कलिलो उमेरमा सुत्केरी हुने दर उच्च छ । विद्यालय शिक्षादेखि समाजका हरेक वर्गले कलिलो अवस्थामा आमा बन्नबाट रोक्न अभियान चलाउनुपर्ने आवश्यकता रहेको शाक्यले औंल्याइन् । आमालाई हुनुपर्ने सामान्य जानकारी पनि कतिपयमा छैन तर ती आमा बनिरहेका छन् । बच्चा भोकाएर रुँदा दूध चुसाउनुको साटो आत्तिएर अस्पतालसम्म ल्याउने गरेका छन् । शाक्यले भनिन्, ‘मानसिक रूपमा सुत्केरी र त्यसपछिको जिम्मेवारीका बारे सचेत नहुँदै आमा हुने देखिएको छ ।’ किशोर–किशोरीमा भागेर विवाह गर्नेमा त्यस्तो समस्या बढी छ । उमेर नपुग्दै मन पराएर विवाह गर्दा गर्भवती अवस्था र सुत्केरीपछिको दायित्वका बारेमा आमाहरू जानकार हुँदैनन् । अस्पलातमा गर्भ परीक्षण गराउन आउने आमालाई स्वास्थ्यकर्मीले २० वर्ष उमेर नपुगी बच्चा जन्माउन हुँदैन भन्ने कुरा त सम्झाउने गर्छन् तर त्यो बेला ढिलाइ भइसकेको हुन्छ,’ शाक्यले भनिन्, ‘परामर्श पहिला गर्ने मौका नै हुँदैन, जब अस्पताल आउँछन्, त्यसपछि एक त मान्दैनन् अर्को मानिहाले पनि गर्भपतन गराउने बेला घर्किसकेको हुन्छ । रामेछाप जिल्लामा नै सबैभन्दा बढी सुरक्षित सुत्केरी गराउने मन्थली प्राथमिक स्वास्थ्य केन्द्र हो । जिल्ला सदरमुकाम भएकाले ग्रामीण क्षेत्रको पहुँच सजिलै मन्थलीमा छ ।

किशोरी अवस्थामा पाठेघरको पूर्ण विकास भइसकेको हुँदैन । केन्द्रमा लामो समयदेखि सुरक्षित सुत्केरी गराउने काममा संलग्न हुँदै आएकी शाक्यको अनुभवमा त्यस्तो अवस्थामा सुत्केरी हुन नसकेर आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ । जटिल प्रकारका केस हामीले रेफर गरेका छौं’, शाक्यले भनिन्, ‘शारीरिक विकास नभई आमा बन्ने कुरा सामान्य होइन, यसले जीवनभर पछुताउनुपर्ने हुन्छ । रामेछाप जिल्ला अस्पताल, मन्थली, खिम्ती र गेलु प्राथमिक स्वास्थ्यलगायतका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने सेवा पछिल्ला वर्षमा प्रभावकारी बन्दै गइरहेको छ । सुत्केरी गराउँदा भत्ता र अन्य सेवाका लागि महिला स्वास्थ्य संस्थामा आउने क्रम बढेको छ । सुत्केरी पूर्वस्वास्थ्यकर्मीसँग परामर्श लिन विरलै महिला स्वास्थ्य संस्थामा पुग्ने गर्छन् ।

२०७४ फागुन ३ गते ७:०५ मा प्रकाशित