माछा मारेर पढाइ खर्च
माछा मार्नु पुर्ख्यौली पेसा । व्यास–१० बोटेटारका १४ वर्षीय जुम्ल्याहा दाजुभाइ त्यसमा पोख्त छन् । यही सीपले राम–लक्ष्मण बोटेलाई पढाइ र घरखर्च जुटाउन ठूलो भर छ । दुवैजना व्यास–१० दुम्सीस्थित शिव माविको कक्षा आठमा पढ्छन् । घरको आर्थिक अवस्था सबल छैन । छोराहरूको पढाइ खर्च जोहो गर्न अभिभावकलाई गाह्रै छ । बाबुआमाका साथ लागेर सिकेको माछा मार्ने सीप राम–लक्ष्मणले साँझ–बिहान मादी नदीमा उपयोग गर्छन् । ‘सधैं राम्रोसँग माछा पर्ने होइन, जुन–जुनबेला पर्छ मज्जाले छाक टर्छ,’ राम भन्छन्, ‘किताब–कापी र खाजा खर्च पनि त्यसैबाट चलेको छ ।’ किताब–कापी, ड्रेस, परीक्षा शुल्क र खाजा–खानाका लागि नै साँझ–बिहान माछा मार्ने गरेको उनले बताए । ‘माछा मारिएन भने घरखर्च पुग्दैन,’ उनले भने, ‘स्कुलबाट घरमा फर्केर होमवर्क सकाएर नदीमा माछा मार्न जाने हो । दाजुभाइ सधैंजसो खोलामा माछा मार्न पुग्छन् । माछा मार्न प्रयोग गर्ने सामग्री ट्यूब, बल्छी, ट्यारी र जाल हो । नदी वारपार गर्न ट्युब चाहिन्छ । हावा भरेर ट्युब चढेर नदी वारपार गर्नुपर्छ । साँझमा जाल, ट्यारी र बल्छी थापेर घर फर्किने र बिहानपखमा निकाल्ने गरेको उनले बताए । ‘ट्युबमा चढेर माछा मार्ने हो । कहिलेकाहीं त तर्दातर्दै ट्युबको हावा फुस्किन्छ,’ रामले भने, ‘पौडी खेलेर निस्कनुपर्छ । ट्युबमा बसेर माछा मार्ने हो, ट्युबको सहयोग लिइएन भने माछा मर्न सकिन्न ।’ दैनिक करिब आधादेखि एक किलो माछा भेला पार्छन् । प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुन्छ । माछा किन्न पारखी र व्यापारी बोटेका घर–घरमा आइपुग्ने गरेकाले बेच्न गाह्रो छैन । बोटेटारका बालबालिकामा माछा मार्न जाने राम–लक्ष्मण मात्रै होइनन् । अरू पनि थुप्रै बालबालिका मादीमा पुगेकै हुन्छन् । यहाँका ६० घरधुरी बोटे परिवार छन् । अधिकांशका बालबालिकाले माछा मारेर खर्च निकाल्ने गरेको स्थानीय जितबहादुर बोटेले बताए । ‘गाउँका सबै बच्चाहरू माछा मार्छन्,’ उनले भने, ‘माछा बेचेर उनीहरूले पनि हातमा पैसा खेलाउन पाउँछन् ।’शिव माविका प्रधानाध्यापक तीर्थराज परियारका अनुसार साँझ–बिहान माछा मार्न जाने भए पनि बोटे समुदायका बालबालिकाको पढाइ राम्रै भएको बताए । ‘पढाइमा राम्रै छन्,’ उनले भने, ‘तर, अरू समुदायका केटाकेटीजस्तो सबै शैक्षिक सामग्री उनीहरूसँग हुँदैनन् ।’अभिभावक नपढेका हुनु र आर्थिक अवस्था कमजोर हुनुको असर बालबालिकाका व्यवहारमा पनि देखिने उनले बताए । ‘नदीमा माछा मार्ने, बालुवा चाल्ने र सुन खोज्ने गरेका बाउआमाले छोराछोरी कस्तो पढ्छन् भनेर चासो पनि कम दिन्छन्,’ उनले भने, ‘केहीको पढाइ निकै राम्रो पनि छ तर घरको अवस्थाले पनि उनीहरूको शैक्षिक गतिविधिमा प्रभाव पार्ने रहेछ ।’घरखर्च जोहो गर्नै आफूहरूको दिन बित्ने गरेकाले छोराछोरीको पढाइमा रेखदेख गर्न नसकेको स्थानीय विमा बोटेले बताइन्।
२०७५ चैत १३ गते ११:१५ मा प्रकाशित