छात्रावास छैन, पिँढीमा बास
नौ कक्षामा पढ्ने रुकुमाया चेपाङ घरको पिँढीमा काठ र स्याउलाले बारेर पढ्न बसेकी छन् । आफन्तको घर हो तर भित्र बस्ने ठाउँको अभावले गर्दा उनी पिँढीमा बस्न बाध्य छिन् ।रुकुमाया राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयकी विद्यार्थी हुन् । उनको घर राक्सिराङ गाउँपालिकाकै टोडेके हो । घरबाट स्कुल आउजाउ गर्न उनलाई ९ घण्टा लाग्छ । त्यसैले उनी सिलिङेमा नै बसेर पढ्न थालेकी हुन । रुकुमाया मात्र होइन, चरिमारा, पम्पुङ, धिराङ र परेवाकोटका गरी ४१ जना छात्रछात्रा सिलिङेका विभिन्न घरमा बसेर स्कुलमा पढिरहेका छन् । राक्सिराङ गाउँपालिका ६ स्थित साविकको काँकडा गाविसमा सिलिङेमा मात्र एउटा माध्यमिक विद्यालय छ । साविकको काँकडा गाविसका विद्यार्थी माध्यमिक तहको अध्ययन गर्न यिनै पढ्न आउनुपर्छ, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारा दुवाडीले भने, ‘यस स्कुलमा टाढारटाढाका विद्यार्थी पढ्न आउने गरेका छन् । टाढाटाढाका विद्यार्थी यस क्षेत्रका घरका पिँढी बारेर पनि बसेका छन्,’ उनले थपे । छात्रावासको अभावले गर्दा साविकका काँकडा गाविस अधिकांश विद्यार्थी बीचैमा पढाइ छोड्न बाध्य छन भने केही विद्यार्थी विद्यालय टाढा भएकाले भर्ना नै हुँदैनन् । साविकको उक्त गाविसमा २ वटा मात्र आठ कक्षासम्म पठनपाठन हुने स्कुल छ । मावि एउटा मात्र छ । आठ कक्षासम्म उत्तीर्ण भएका विद्यार्थी माध्यमिक विद्यालय टाढा भएकाले समस्या भोगिरहेका छन् । बस्ने ठाउँको अभावले उनीहरूलाई समस्या भएको हो । सिलिङेस्थित उक्त माध्यमिक विद्यालयमा १२ जना मात्र अट्ने छात्रावास छ । त्यो अत्यन्त अपुग छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम चेपाङले भने, ५० जनाभन्दा बढी विद्यार्थी टाढारटाढाबाट यहाँ पढ्न आउने गरेका छन् ।
छात्रावासमा नअटेका विद्यार्थीहरू गाउँका छाप्रँमा विभिन्न किसिमले आश्रय लिएर बसेका छन् । सय जनाभन्दा बढी अट्ने क्षमता भएको छात्रावास बनाइदिन प्रदेश सरकारसँग माग गरेका छौँ,’ वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘प्रदेश सरकारले बनाइदिने आश्वासन दिएका छन् । हेरौँ ।२०२२ सालमा स्थापना भएको उक्त माध्यमिक विद्यालयमा ६ सय ३२ जना छात्रछात्रा अध्ययन गर्छन् । तीमध्ये ७६ प्रतिशत चेपाङ समुदायका बालबालिकाहरू अध्ययन गर्छन् । उक्त विद्यालयमा अध्ययन गर्नेमध्ये ३५५ जना छात्रा र २७७ जना छात्र छन् । विद्यालयमा एक गैरसरकारी संस्थाले विगत ६ वर्षदेखि दिवाखाजाको व्यवस्था गर्दै आएको छ । दुर्गम र चेपाङ बस्तीमा रहेको उक्त विद्यालयमा विद्यार्थी संख्या उल्लेख्य हुनुमा दिवाखाजाका कारणले हो प्रअ दुवाडीले भने, ‘स्कुलमा दिउँसो खाजा खान पाउने भएकाले अधिकांश चेपाङ समुदायका बालबालिकाहरू बिहान भोकै पढ्न आउने गर्छन् । स्कुलमा पनि खाजाको व्यवस्था भएन भने उनीहरू स्कुल हाजिर हुँदैनन् । आए पनि हाफटाइमपछि भागेर घर जान्छन् । दिवाखाजाको व्यवस्थाले स्कुलमा उनीहरू नियमित पढ्न आउनुका साथै उनीहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको दाबी प्रअ दुवाडीले गरे । उक्त स्कुलमा अहिले कम्प्युटरको पढाइसमेत हुने गरेको छ।
२०७५ फागुन २९ गते ८:१८ मा प्रकाशित