समाचारमा बालबालिका

१०६ जनाको जीपीए ४

ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले एसईईमा जीपीए ४ ल्याएका छन् । ८२९००९२ सिम्बर नम्बर रहेका भट्टले उत्कृष्ट नतिजा आएकोमा खुसी व्यक्त गरे । उनले विज्ञान पढेर इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । उनका बाबु प्रहरी सेवामा छन् । भट्टले नियमित २र३ घण्टा पढेमा राम्रो नतिजा आउने बताए । उनले भने, ‘स्कुलबाट आएर २/३ घण्टा पढ्थें । विद्यालयका शिक्षक विष्णु नेपालले धीरेन्द्र मिहनती र लगनशील विद्यार्थी भएको बताए । ‘नजानेको कुरा सोध्ने उनको बानी राम्रो छ’, उनले भने, ‘लगनशील र मेहनती पनि त्यत्तिकै छन् ।’ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुका दिपेश अम्गाईंले पनि ४ जीपीए ल्याएका छन् । उनको सिम्बल नम्बर ०३१८०६० बी हो । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको विद्यालयका शिक्षक बताउँछन् ।प्रिन्सिपल रविन बस्नेतले पढाइअनुसार अमगाईंले नतिजा ल्याएको बताए ।राजधानीबाट १०६ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख रहेको दाबी गरे ।

रूपन्देहीमा आठ जनाको ४ जीपीए

बुटवल स् एसईईमा रूपन्देहीका आठ विद्यार्थीले जीपीए ४ ल्याएका छन् । सामुदायिक विद्यालयबाट एक र संस्थागत विद्यालयबाट ७ जनाले जीपीए ४ ल्याएका हुन् । पहिलोपटक सामुदायिक विद्यालयबाट कालिका मानवज्ञानकी सविना सुवेदीले चार जीपीए ल्याएकी छन् । बुटवलकै न्यु होराइजन माविका सातजनाले जीपीए ४ ल्याएका छन् । होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायका अनुसार अनुष्का श्रेष्ठ, रोश्ना टण्डन, प्रवेश आचार्य, अपिल चौधरी, क्षितिज डुम्रे, सुयल ज्ञवाली र सोदीक्षा कुँवरले चार जीपीए ल्याएका छन् । चार जीपीए प्राप्त गरेका विद्यार्थीले बुटवलबाटै उच्च शिक्षा सुरु गर्ने बताएका छन् । अधिकांशको लक्ष्य डाक्टर बन्ने छ । ‘मैले सानैदेखि डाक्टर बन्ने सपना बुनेकी थिएँ । नतिजाले पनि साथ दियो । सोदीक्षाले भनिन्, ‘विज्ञान संकायबाट एमएबीबीएस तयारीमा जुट्नेछु ।’छोरीले उच्च अंक ल्याएपछि परिवारले खुसीयाली मनाएको छ । सोदीक्षाकी बुवा खुम कुँवरले छोरीको सफलतामा खुसी प्रकट गरे । ‘एउटै सन्तानको सफलताले खुसीको सीमा छैन’, उनले भने ।अर्का विद्यार्थी प्रवेश आचार्य शिक्षकका छोरा हुन् । अर्घाखाँची मालारानीका उनी हाल बुटवलमै बस्छन् । न्यु होराइजनमा कक्षा प्रथम हुँदै आएका उनले जीपीए चार आउने अपेक्षा गरेको बताए । ‘जस्तो अपेक्षा गरेको थिएँ, त्यस्तै नतिजा आयो’, उनले भने । उनको पनि डाक्टर नै बन्ने योजना छ । उनले भने, ‘चिकित्सक बनेर समाजसेवा गर्छु ।’कालिका मानवज्ञानकी सबिना सुवेदी कपिलवस्तुकी हुन् । कक्षा शिक्षक सरस्वती थापाले भनिन्, ‘लगनशील विद्यार्थीले राम्रो नतिजा ल्याउँछ भन्ने सबिनाले प्रमाणित गरेकी छन् । जस्तो मिहेनत उस्तै नतिजा आयो ।’ सबिनाको रोजाइ पनि विज्ञान नै हो ।जीपीए ४ ल्याएका विद्यार्थीले मिहेनत गर्दा राम्रो नतिजा आउने अनुभव सुनाउँछन् । ‘पछिल्लो एक महिना जति मेहनत गरियो, आफ्नै नतिजा राम्रो आयो’, होराइजनकी कुँवरले भनिन्, ‘व्यावहारिक भएर पढाइमा ध्यान दिँदा राम्रो नतिजा आउँदो रहेछ ।’एसईईमा नतिजामा जीपीए ४ ल्याउने आठ विद्यार्थी।

२०७६ असार १३ गते ६:३२ मा प्रकाशित