समाचारमा बालबालिका

छात्रामैत्री छैनन् शौचालय

एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि हरेक केन्द्रमा २ अस्थायी शौचालय बनाइएको छ । महिला, पुरुष वा छात्रा, छात्राका छुट्टा–छुट्टै कच्ची शौचालय छन् । जिल्लाका १८ वटै केन्द्रमा पुराना बाँसका घोचा गाढेर पुराना जस्ता प्रयोग गरी बोरा तथा कागजका कार्टुनले बारेर अस्थायी शौचालय बनाइएको छ । खुला ठाउँ, बाहिरबाट भित्र प्रष्ट देखिने, दिसा गर्न नमिल्ने भएपछि उक्त शौचालयमा परीक्षा दिन आएका छात्रा जान हिच्किचाएका छन् ।‘आधा घण्टाबीच २०/२५ छात्र शौचालय जान निस्किए । कोहीले बाहिरै पालो कुरेको देखियो । छात्रा एकजना मात्रै देखियो,’ जनविकास मावि केन्द्र बेंसीसहर केन्द्रको अनुगमनका गएका शिक्षा कार्यालयका स्रोतव्यक्ति मीनराज घिमिरेले भने । उक्त केन्द्रका निरीक्षक सीता अधिकारीले छात्राका लागि उक्त शौचालय उपयुक्त नभएको बताइन् । ‘आउँदा नै विद्यार्थीले शौचालय कस्तो ठाउँमा छ भनेर हेरिसकेका छन् । खुला ठाउँ भएकाले त्यस्ता ठाउँमा पिसाव गर्न समेत महिलालाई गाह्रो हुन्छ,’ उनले भनिन् । जनविकास मावि चण्डिडाँडा केन्द्रकी निरीक्षक शोभा पौडेलले अस्थायी शौचालयमा छात्रालाई शौच जान गाह्रो परेको बताइन् । ‘महिलाका अनेक समस्या हुन्छन् । खुला ठाउँमा गएर महिलाले आफूलाई कसरी सम्हाल्न सक्छन् रु’ उनले भनिन्, ‘छात्रका लागि त ठीकै हो । छात्राका लागि अस्थायी शौचालय त समस्या मात्रै हो । यसले गर्दा परीक्षा बिग्रन सक्छ ।’ जनविकास मावि चण्डीडाँडा केन्द्रका केन्द्राध्यक्ष खिला शर्मा धितालले छात्रालाई आवश्यक परेमा स्थायी शौचालय प्रयोग गर्न दिने बताए । जनविकास मावि बेंसीसहर केन्द्रका केन्द्राध्यक्ष रत्नमान श्रेष्ठले छात्राका लागि स्कुलमा रहेको शौचालय नै प्रयोग गर्न दिने गरी व्यवस्थापन गरिने बताए ।

अस्थायी शौचालयका लागि ४ सय रुपैयाँ बजेटले कसरी राम्रो शौचालय बनाउनु रु हामीलाई पनि समस्या छ, उनले भने । अनुगमनमा गएका टोलीले छात्राका लागि बनाइएका शौचालयलाई सुधार्न, थप व्यवस्थित गर्न वा विकल्प खोज्न सुझाएका छन् । कक्षाकोठाबाट शौचालय नजिक हुनुपर्ने, दिसा गर्नका लागि पनि शौचालयको व्यवस्था हुनुपर्ने, परीक्षार्थीको लागि कोठा–कोठामै खानेपानीको व्यवस्था गर्नुपर्ने सुझाव मौखिक र लिखित रूपमा दिएका छन् । अनुगमनका क्रममा छात्रहरू सहजरूपमा शौचालयमा जाने गरेको र छात्रा भने नजाने गरेको भेटिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष राजु थापाले बताए । अस्थायी भए पनि कमसेकम बस्न मिल्ने खालको शौचालय हुनुपर्छ । कसैले नदेखोस् भनेर बनाइने शौचालय सबैले देख्नेगरी दिसापिसाव गर्नका लागि पक्कै होइन,’ उनले भने । उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईले केन्द्रले चाहेमा आन्तरिक स्रोतसाधनबाट पनि शौचालयलाई व्यवस्थित गर्न सकिने बताए । ‘शिक्षा कार्यालयको बजेट मात्रै पर्याप्त नहुन सक्छ । आफ्नो स्रोतसाधनको पनि प्रयोग गर्नुपर्छ, बजेटको मात्रै भर पर्ने होइन, उनले भने, अनुगमनमा जाँदा परीक्षा केन्द्रको छात्रा शौचालय समस्याग्रस्त देखियो, सुधार्न भनेका छौं ।

पुगेनन् सेनेटरी प्याड र प्राथमिक उपचार सामग्री
जनविकास मावि चण्डीडाँडाकी निरीक्षक शोभा पौडेलका अनुसार महिनावारी कहिले हुन्छ भन्ने समयको अनुमान गरिए पनि कतिबेलादेखि हुन्छ भन्ने हेक्का कसैले राख्न सकिँदैन । परीक्षार्थीले बोकेर ल्याउने कुरा पनि भएन ।‘गत वर्ष त परीक्षा दिन आएपछि केन्द्रमै पाइन्छ भनेर सुनेका उनीहरूले समस्या परिसकेपछि पनि प्याड प्रयोग गर्न नपाउँदा समस्या पर्‍यो,’ उनले भने । जिल्लाका कुनै पनि केन्द्रमा परीक्षाको पहिलो दिन सेनेटरी प्याड पुगेनन् ।