समाचारमा बालबालिका

बालिका वेश्यावृत्तिमा लगाउने पक्राउ परेनन्

काममा लगाइदिने प्रलोभन देखाई १५ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने होटेल सञ्चालकलाई सात दिन बित्दा पनि प्रहरीले पक्राउ गरेको छैन । खैरहनी नगरपालिकाको खुरखुरे बजारनजिक रहेको शर्मिला होटेलका सञ्चालक सुरज पाठक र शर्मिला पाठकले आफूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै बालिकाले एक साताअघि प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । सुरुमा प्रहरीले नै उजुरी दर्ता गर्नै आनाकानी गरेको थियो । तर, विभिन्न अधिकारवादी संघसंस्थाको दबाबमा उजुरी दर्ता गरे पनि प्रहरीले अभियुक्तलाई अहिलेसम्म पक्राउ गरेको छैन । बैरेनीमा अभिभावकसँग भाडामा बस्दै आएकी बालिकालाई होटेल सञ्चालक सुरज पाठकले काममा लगाइदिने भन्दै वेश्यावृत्तिमा लगाएको उजुरीमा उल्लेख छ । बालिकाका अनुसार खुरखुरे बजारनजिकको शर्मिला होटेलमा काम सुरु गरेको भोलिपल्ट होटेल मालिकले अप्राकृतिक मैथुन गराएका थिए । त्यसपछि ट्रक ड्राइभर बोलाएर जबर्जस्ती यौन सम्पर्क गर्न लगाएका थिए । घटनापछि २३ मंसिरमा बालिकाले इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएकी थिइन् । प्रहरीले २४ गते भरतपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराएको थियो । तीन दिनसम्म लगातार यौन हिंसामा परेपछि बालिकाले परिवारमा जानकारी गराएकी थिइन् । त्यसपछि घटना सार्वजनिक भएको हो । २२ मंसिरमै प्रहरीमा उजुरी दिन खोज्दा खैरहनी इलाका प्रहरी कार्यालयले उजुरी लिन मानेको थिएन । त्यसपछि परिवारका सदस्य गुहार माग्दै विभिन्न संघसंस्था पुगेका थिए । संघसंस्थाको दबाबपछि प्रहरीले २३ गते उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता गरे पनि प्रहरीले अहिलेसम्म आरोपीलाई पक्राउ गरेको छैन । खैरहनी इलाका प्रहरीका प्रहरी निरीक्षक धनबहादुर साउदले घटनाको अनुसन्धान चलिरहेकाले आरोपीलाई गिरफ्तार नगरिएको बताए । बालिकामाथि यौन हिंसाजस्तो गम्भीर अपराधको घटनामा प्रहरीले सुरुदेखि नै बेवास्ता गरेको गुनासो पीडित परिवारको छ । दोषीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्नुपर्नेमा चासो नदिएपछि २४ मंसिरमा आफू जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा आएको उनले बताइन् । होटेल सञ्चालक महिला र पुरुष दुवै यस घटनाको दोषी रहेको पीडित बालिकाको दाबी छ।

२०७६ मङ्सिर २६ गते ७:२६ मा प्रकाशित