समाचारमा बालबालिका

सुस्तमनस्थितिकी बालिका सामूहिक बलात्कारको शिकार, एक पक्राउ

सामूहिक बलात्कार घटनामा संलग्न मध्ये एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका अविनाश सरदारसहित तीनजनाले सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनार बस्ने सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकालाई गत १३ गते बेलुका गहुँ खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए । पीडित बालिका स्थानीय स्कुलको एलकेजीमा अध्ययन गर्दै आएकी छिन् । पीडित बालिकाका परिवारले बलात्कारी पक्राउ गरी हदैसम्मको दण्ड सजायको माग गर्दै इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा सरदारलाई पक्राउ गरिएको हो । सोही गाउँका ३ युवाले खानेकुरा किनिदिन्छौं भनेर घर नजिकैको गहुँ बारीमा लगेर बलात्कार गरेका थिए । किटानी जाहेरी दिएपनि सरदार पक्राउ परिसकेको र बांकी दुइजना फरार रहेकाले उनीहरुको नाम सार्वजनिक नगरिएको इप्रका इटहरीका प्रहरी नायव उपरिक्षक संजय राउतले बताए । उनले भने, ‘फरार अभियुक्तहरुको खोजी भइरहेको छ । पक्राउ परेकालाई म्याद थप गरी कानुनी कारबाही अगाडि बढिसकेका छौं ।’सरदारसहितका समुहले बालिकालाई ५० रुपैयाँ दिएर ललाई फकाई सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञानमा भेजिना स्वाव, हाइमेन टेस्ट र उपचार पछि अभिभावकसंगै घरमा पठाइएको प्रहरीले जनाएको छ । यसैबीच किटानीका साथ उजुरी दिएपछि पिडक अविनाशका बाबु दनालाल सरदारले पैसा दिएर बलात्कार घटना सामान्य भएको र गाउँमै मुद्दा मिलाउन दवाव दिएको पीडित परिवारले जनाएको छ । दोषिलाई कारवाही नगरेसम्म पैसामा मिल्न नचाहेको बताएपछि पिडक पक्षले आफन्त तथा स्थानीय समाज बसाएर दवाव दिएको पीडित परिवारले जनाएका छन् । डिएसपी राउतले बलात्कार जस्तो जघन्य अपराध समाजमा मिल्न नसक्ने उल्लेख गर्दै आर्थिक प्रलोभनमा पारेर गाउँमै मुद्दा मिलाउन दबाब दिएको उजुरी आएमा मिल्ने र मिलाउने दुवै पक्षलाई पक्राउ गरी कारबाही गर्ने बताए ।

२०७४ चैत्र १६ गते ११:५८ मा प्रकाशित