समाचारमा बालबालिका

समाजै गुहार्दा पनि बलात्कृत

रात छिप्पिँदै थियो । बस्ती पनि सुनसान बन्यो । धनुषा, बिषरभोराकी १४ वर्षीया किशोरी सुतेको घरको ढोका लगातार ढकढक्याइयो । बुवा–आमा घरमा नरहेकाले ती किशोरीले ढोका खोल्न मन गरिनन् । तर, ढोका थपथप्याउने क्रम नरोकिएपछि उनी बाहिरिन् । त्यही उनका लागि अभिशाप बन्यो ।‘परिचित’ दुई युवामध्ये एकले किशोरीलाई नियन्त्रणमा लिन खोजे । उनी फुत्केर भागिन् । बस्तीका सबै घरको ढोका ढक्ढक्याउँदै उनी गुहार मागिन् । तर, उनको चित्कार सुनिदिने कोही भएनन् । दुर्भाग्य, उनीलाई दुबै केटाले नियन्त्रणमा लिए । र, अलि परको खेतमा लगेर बलात्कार गरे । गाउँमै आपराधिक छवि बनाएका ती दुबै केटाको भयले समाज नै त्यो घृषित क्रुरताको साक्षी मात्रै बने, रोक्न र प्रतिकार गर्न हिम्मत जुटाएनन् । चैत १४ गते राति धनुषाको सहिद नगरपालिका–८ को बिषरभोरामा किशोरीको सामूहिक बलात्कार गर्ने २५ वर्षका मनोज यादव र २४ वर्षीय दिपेश बिराजी घटनापछि समाजले नै चासो नदेखाउँदा फरार भए । बलात्कारका आरोपी मनोज यसअघि सशस्त्र समूहमा हुँदा आतंक फैलाएका र अर्का आरोपी दिपेश वडा सदस्य राकेश बिराजीको भाइ भएकाले ती किशोरी गाउँभर दौडिएर गुहार माग्दा पनि समाजले ‘चाल’ नपाएको जस्तो ढोंग गरिरहे । ‘चिच्याहट नसुनेझैं गर्दा म लुटिँदै गएँ, छिमेकीहरू मेरो चित्कार सुनिबसे,’बलात्कृत किशोरीले भनिन्, ‘गुहार माग्दा पनि मौन बसेका गाउँलेले मेरो अस्मिता लुट्नेलाई जोगाउन भने मिलापत्रका लागि दबाब दिन मुखचाहिँ खोले । बलात्कृत किशोरीका अनुसार दुबै युवाले उनलाई नियन्त्रणमा लिन खोजेपछि उनी फुत्किएर भागिन् । जोगिनका लागि दौडिँदै उनले धेरै घरमा गुहार मागिन् । तर, ती किशोरीलाई कसैले संरक्षण दिएनन् । समाज नै मुकदर्शक बनेपछि दुबै केटाको मनोबल बढ्यो । किशोरीलाई काबुमा लिए । मुख थुनेर खेतमा लगेर बलात्कार गरे । ‘बलात्कारको भिडियो पनि बनाए । र, भने कहींकतै भन्यौ भने भिडियो फेसबुकमा हाल्दिन्छु,’ किशोरीले भनिन्, ‘पख न कहाँ छोड्छु भनेपछि गम्छाले घाँटी बाँधेर ज्यान लिने प्रयास गरे । म जसोतसो उम्किएर भागें ।’ बलात्कारपछि गहुँ खेतमा लुकेर ज्यान जोगाएकी किशोरीले मामाघर सिरहामा रहेका आमा–बुवालाई घटनाबारे सुनाइन् । आमा–बुवाकै सल्लाहअनुसार उनले बलात्कारपछि हत्या गर्न खोजेको घटना छिमेकीलाई राति नै सुनाइन् । उनको पीडा सुन्ने कुनै छिमेकीले पनि प्रहरीलाई खबर गर्न मानेनन् । यतिसम्म कि बलात्कृत किशोरीलाई रातिसँगै राख्न पनि तयार भएनन् । छोरी आफ्नै घरमा फर्केर रात बिताइन्,’ किशोरीकी आमाले भनिन्, ‘घरमा कोही नभएकाले छिमेकीमै बस्न पठाए तर कसैले पनि आफ्नो घरमा राख्न तयार भएनन् ।

विपन्न परिवारमा हुर्केकी बलात्कृत किशोरीका बुवा बैदेशिक रोजगारमा यसै साता कतार हिँडेका छन् । त्यो परिवारको सम्पत्ति भनेकै ७ धुर घडेरीमा बनेको कच्ची घर नै हो । समाज कतिसम्म मुकदर्शन बन्यो कि किशोरी बलात्कृत गरेपछि दिनभर आरोपी गाउँमै बसिरहे । प्रहरीलाई घटना लुकाउँदै समाज नै बलात्कारमा मिलापत्र गराउन अग्रसर भए । किशोरीकै अड्डीले मिलापत्र हुन नसकेपछि दुबै आरोपीलाई फरार गराइयो । किशोरी बलात्कृत भएको अर्को दिन मात्रै घटना प्रहरीसम्म पुग्यो । इलाका प्रहरी कार्यालय, यदुकोहाका प्रमुख इन्सपेक्टर पवन झाले बलात्कारको घटना समाजमै मिलाउन खोज्दा प्रहरीले ढिलो मात्रै जानकारी पाएको बताए । धनुषा प्रहरीले दुबै आरोपीलाई पक्राउ गर्न टिम नै खटाएको छ । ‘आरोपीको खोजी हामी युद्धस्तरमा गरिरहेका छौं,’ इन्सपेक्टर झाले कान्तिपुरसँग भने, ‘भारततिर लुकेर बसेको खबर आएको छ, त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको छ ।’ किशोरी बलात्कारको घटनामा समाज नै मुकदर्शक बनेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले धनुषाको बिषरभोरामै पुगेर बलात्कारको घटना समाजमै लुकाउने र आरोपीलाई राजनीति संरक्षण दिएको आरोप लगाए । अपराध रोक्न र सुशासन कायम गर्न मन्त्री यादवले ‘जनताको कचहरी’ कार्यक्रम बिषरभोराबाटै थाले । ‘किशोरी बलात्कारको घटना समाजमै मिलाउन खोजियो । बलात्कारपछि किशोरीको उपचार पनि गाउँकै स्वास्थ्य चौकीमा गर्ने अडान लियो,’आन्तरिक मामिलामन्त्री यादवले कान्तिपुरसँग भने, ‘बलात्कारको घटनामा जतिसुकै शक्ति केन्द्रको संरक्षण रहे पनि आरोपी उम्किन पाउँदैन ।’ प्रदेश २ मा सरकार बनेपछिको अवधिमा मात्रै ८ जिल्लामा ३७ वटा बलात्कारका घटना भएको छ । प्रदेशसभाको बैठकमा सत्तापक्ष र विपक्षीका सांसदले प्रदेशमा बलात्कार र अन्य आपराधिक वारदाता बढेको भन्दै सरकारको आलोचना गरेपछि आन्तरिक मामिलामन्त्री यादवले अपराधको तथ्यांक सार्वजनिक गरेका हुन् । प्रदेश २ का ८ जिल्लामा ३७ बलात्कार, घरेलु हिंसाका ७६ र महिलाहिंसाका ६५ घटना भएको छ । गोली हानेर दुइटा हत्या प्रयास र ४ वटा बम विष्फोटका घटना भए । सप्तरीमा १०, पर्सामा ६, सिरहामा ५, महोतरी र सर्लाहीमा ४र४, धनुषा र बारामा ३र३ र रौतहटमा २ जना बलात्कृत भएकी छन् ।

२०७४ चैत्र ३० गते १०:५८ मा प्रकाशित