समाचारमा बालबालिका

निर्घात कुटिएका बालकले भने : मार्ने उद्देश्यले मलाई कुटियो (बयानसहित)

चितवनमा रहेको सैनिक महाविद्यालयमा एक बालक निर्घात रुपमा कुटिएका छन् । साथीले पिसाब फेर्न बोलाएर उनलाई निर्घात कुटेका हुन् । छात्राबासमा बस्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी सिर्जना पौडेल लामिछानेका १४ वर्षीय छोरा श्रीनव लामिछानेलाई गएको शनिबार उनकै साथीले निर्घात कुटपिट गरेका हुन् । मंगलबार पत्रकार सम्मेलनमा उनले आफूलाई मार्ने उदेश्यले कुटपिट गरिएको बताए । 

पत्रकार सम्मेलनमा पीडित बालकको बयान उनकै आवाजमा

 सैनिक महाविद्यालय । हामी मस्त निन्द्रामा थियौँ । शनिबारको दिन बिहान ३ बजेको समय ।  पिसाब फेर्न साथीसँग जाने गरिएको थियो । कक्षा ९ मा नयाँ भर्ना भएका क्रिस थापाले सधै मैसँग पिसाब फेर्न जाने गरेको थियो । त्यसदिन पनि मलाई बोलायो । म बेडबाट उठे । क्रिस नै हो भन्ने सोचेँ तर, त्यसदिन मलाई बोलाउने अनिश श्रेष्ठ रहेछ । अनिशसँगै पिसाब फेर्न गएँ ।  शौचालयमा अनिशले पिसाब गरिरहेको थियो । नजिकै अर्को साथी रियाज रेग्मी लुकेर बसेको रहेछ । रियाज लुकेर बसेको देखेपछि म आत्तिएँ । झस्याङ भँए । मैले किन लुकेको भनेर सोधे । लगतै रियाज रेग्मीले ज्यान समात्यो । पछाडि क्रिस थापा पनि आएर समात्यो ।  दुई जना भएर घाँटी न्याके, नाक र मुख छोपे । भित्तामा ठोकाए । धारामा लगेर न्याके ।  आत्तिएर म कराएँ । त्यही समयमा पिसाब गर्न शौचालय पुगेका सुयोग श्रेष्ठ, रिजन श्रेष्ठ नजिकै आएका थिए । तर क्रिस थापले चुप लाग भनेर थर्कायो । मेरो पार्टनर  सुएस खनालले सुनेको रहेछ । मेरो बेड पार्टनर भएकोले सुएसले मलाई भित्र खोजेछ । नदेखेपछि उसले पालेलाई भनेछ । पालेलाई खबर गरेपछि क्रिस थापा डरायो । त्यसपछि मलाई झन धारामा ठोक्कायो । टूटी नै भाँचिएछ । उनीहरु भागे । अनी म घिस्रीरहेको थिएँ । पालेलाई भेटेँ । विद्यालय बन्द हुन्छ भनेर मलाई कुटेका रे । आएदेखि नै विद्यालयमा कोही मरो भने के हुन्छ जस्ता कुरा सोध्थे तीनीहरुले । सबै नौ कक्षा पढ्ने हुन । क्रिस थापा नयाँ विद्यार्थी हो । अरु पुराना विद्यार्थी हुन । मलाई ३:४५ मा उपचार गर्न लगे । घटनापछि तीन जना साथीको अभिभावक (प्यारेन्टस) सँग कुरा भयो । मेरो प्यारेन्टसलाई बोलाउने भनेको विद्यालयले बोलाएन । मेरो साथीको बाबाले ममीलाई भनेपछि बाहाना पारेर ममी विद्यालय आउनुभयो । पछि मात्र ममीलाई  सामान्य चोट लागेको भनेर विद्यालयले जानकारी गराएको हो ।  क्रिस थापा ६ मा आएको तर बेहोस भएको नाटक गर्ने गरेका कारण विद्यालय छाडेको थियो  । अहिले ९ मा फेरि भर्ना भएको हो ।  

उनको दाँया आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामूनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा निल डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ । आमा सिर्जना पौडेलले बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि मंगलबार प्रहरीमा उजुरी दर्ता गरिने बताउनुभयो । घटना भएपछि विद्यालयले घटना लुकाउन समयमा जानकारी नदिएको उहाँले बताउनुभयो । घटना पश्चात बिहान १० बजेतिर विद्यालयका निमित्त प्रिन्सिपल भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको बताउनुभयो । कक्षा ६ भन्दामाथि मात्रै पढाई हुने त्यो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ । 

२०७५ जेठ १ गते ७:३६ मा प्रकाशित