समाचारमा बालबालिका

झुटा कागज बनाएर बालगृहमा लगिएका २४ बालबालिका अलपत्र

झुटा कागजपत्र बनाएर जनप्रतिनिधिको सिफारिस र अभिभावकको सहमतिमा रुकुम पु¥याएका जुम्लाका २४ बालबालिका अलपत्र परेका छन् । अनाथालयमा पढाउने भन्दै एक महिनाअघि पातारासी गाउँपालिका वडा नम्बर १ र २ का २४ बालबालिका रुकुम लगिएका थिए । त्यहाँ रहेको नरसिंह बालगृहमा राखिएका उनीहरू अहिले अलपत्र परेका हुन् । परिवारजनका अनुसार उनीहरूले उचित स्याहारसुसार पाएका छैनन् । खानपिनको व्यवस्थासमेत नभएको गुनासो गरेका छन् । महिला तथा बालबालिका कार्यालय रुकुमले पनि उनीहरू अलपत्र अवस्थामा रहेको जनाएको छ । ‘उनीहरूको अवस्था दयनीय छ,’ महिला तथा बालबालिका कार्यालय रुकुमका बाल अधिकार अधिकृत मानवीर ओलीले भने । उनीहरूलाई पढाउने भनेर तीन चरणमा रुकुम पु(याइएको थियो । त्यहाँ उचित व्यवस्था नभएको बाल अधिकार अधिकृत ओलीले बताए । ‘बालगृहमा खानपान र आवासको व्यवस्था राम्रो छैन । बालबालिकाले स्कुल पढ्न पाएका छैनन्,’ उनले भने ।

बालकल्याणलाई थाहै दिइएन
अनाथ बालबालिकालाई कुनै पनि जिल्लाबाट बाहिर लग्दा सम्बन्धित जिल्ला बाल कल्याण समितिको अनुमति लिनुपर्छ । समितिले सिफासिस गरेपछि मात्रै बाहिर लग्न पाइन्छ । तर, जुम्लाबाट रुकुम लग्दा भने जिल्ला बाल कल्याण समितिलाई जानकारी नै दिइएको छैन । समितिले उनीहरूलाई सिफारिस नदिएको जनाएको छ । रुकुममा अलपत्र रहेका बालबालिकालाई फिर्ता ल्याउन पहल भइरहेको समितिले जनाएको छ । जिल्ला बाल कल्याण समिति रुकुम र स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

यसरी बनाइयो झुटो कागजपत्र
अनाथालयमा लगिएका अधिकांश बालबालिकाका आमाबुवा जीवितै छन् । तर, अनाथ भनेर उनीहरूका झुटा कागजपत्र बनाइएको जनाइएको छ । अभिभावककै सहमतिमा वडा कार्यालयले झुटा कागजपत्र सिफारिस गरेको पाइएको छ । पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले आफ्नो वडाबाट दुई बालकको मात्रै सिफारिस गरेको बताए । अभिभावकले जिद्दी गरेपछि सिफारिस गर्न बाध्य भएको उनको भनाइ छ । उनका अनुसार, २२ बालबालिका वडा नं। १ का छन् ।पातारासी गाउँपालिका–१ का वडाध्यक्ष दत्तबहादुर बुढा मोबाइलको स्विच अफ गरेर बसेका छन् । त्यस्तै, बालगृह सञ्चालक विभय बुढा पनि सम्पर्कमा छैनन् । पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहराले ती बालबालिका त्यहाँ कसरी पुगे र कसले पु¥यायो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

२०७५ जेठ ८ गते प्रकाशित