समाचारमा बालबालिका

समयमा खुल्दैनन् विद्यालय

सप्तरीको विष्णुपुर गाउँपालिका ७ स्थित जनता आधारभूत विद्यालय अगाडि आइतबार बिहान साढे ९ बजे विद्यार्थी आएका थिए । तर, विद्यालयको मूलगेटमै ताल्चा लागेको थियो । उनीहरू विद्यालयको छेवेमा निर्माणाधीन विद्यालय भवनका अगाडि किताब राख्दै बसे । केही बेरसम्म बस्दा पनि उनीहरूको विद्यालय खुलेन । १० बज्नै लाग्दा एकजना बालक आएर कक्षा ७ की छात्रा प्रियंकाकुमारी मण्डलका हातमा साँचोको झुत्तो दिए । प्रियंकाले विद्यालयको मूलगेटको ताल्चा खोलिन् । विस्तारै विद्यार्थी कक्षा कोठा तर्फ लागे । विष्णुपुर गाउँपालिकाको कार्यालयसित टाँसिएकै विद्यालयको अवस्था हो यो । विद्यार्थी आफैं ताल्चा खोलेर विद्यालय प्रवेश गरेपछि तस्बिर लिन लाग्दा नजिकै रहेका गाउँपालिकाका एकजना कर्मचारीले प्रधानाध्यापक नन्दलाल यादवलाई फोन गरी विद्यालयमा पत्रकार आएको सुनाए । लगतै प्रअ यादव विद्यालय पुगे । विद्यालय त विद्यार्थीले खोले नि रु भन्ने प्रश्नमा प्रअ यादव केही बेर अक्मकिए । उनले अरू सबै दिन आफू नै विद्यालय खोल्ने गरेको बताउँदै आज (आइतबार) बाटोमा आफूलाई काम परेकाले विद्यार्थीलाई नै साँचो जिम्मा लगाएको बताए। उक्त विद्यालयमा कार्यालय सहयोगी छैनन् । प्रअ यादवबाहेक अन्य ६ जना शिक्षक विद्यालयमा कार्यरत छन् । एकजना क्रियाबिदाबाहेक अन्य शिक्षक पनि समयमा आएनन् । सात कक्षासम्म अध्ययापन हुने उक्त विद्यालयमा गत शुक्रबार १६ जना विद्यार्थी रहेको कक्षा ७ मा ६ जना, ३३ जना विद्यार्थी रहेको कक्षा ६ मा ११ जना, २९ जना विद्यार्थी रहेको कक्षा ५ मा ९ जना, २५ जना विद्यार्थी रहेको कक्षा ४ मा ७ जना र २९ जना विद्यार्थी रहेको कक्षा ३ मा ९ जना विद्यार्थी मात्र उपस्थित रहेको हाजिरी रजिष्टरको तथ्यांकमा देखियो । कक्षा १, २ र बालविकासको त दैनिक हाजिरी समेत गरेको देखिएन । प्रधानाध्यापक यादवले शुक्रबार शिक्षकहरूको हडतालका कारण केही कक्षाको हाजिरी गर्न नभ्याएको प्रष्टीकरण दिए । उनले चाडपर्वका कारण विद्यार्थी कम भएको बताए । हामी दैनिक समयमै विद्यालय आउछौं तर आज अलि ढिलो भयो,’प्रअ यादवले भने । विद्यालयमा कक्षा सञ्चालन भइरहँदा पनि केही शिक्षक कक्षा बाहिरै घुमिरहेका थिए। गाउँपालिका अध्यक्ष लीलाम्बर यादवले विद्यालयका समस्याबारे आफू गम्भीर रहेको र सुधारको प्रयास गर्ने बताए।

२०७६ कात्तिक ४ गते १:४६ मा प्रकाशित