समाचारमा बालबालिका

भीर छिचोल्दै विद्यालय

विद्यालय जाने क्रममा पाख्रिबास नगरपालिका चुङमाङका ६ वर्षीय विपेन योञ्जनले गत वर्ष ज्यामिरे खोलाले बगाएर ज्यान गुमाउनुपर्यो । उनका दाजु दिनेशलाई उद्धार गरी बचाइयो । क्षेत्रमा पर्याप्त पुल अभावमा यस्ता घटना दोहोरिन्छन् । सहिदभूमि गाउँपालिकाको दिलुङटार क्षेत्रमा भरपर्दो गोरेटो अभावमा भीरको जोखिमपूर्ण बाटोमा यात्रा गर्नुपर्ने अवस्था छ । खासगरी विद्यालय आउजाउ गर्ने बालबालिका जोखिम मोल्न बाध्य रहेको स्थानीय विनोद विष्ट बताउँछन् । भीरमा सुक्खा पहिरो भएका ठाउँबाट विद्यालय जानुपर्ने बाध्यता छ । विद्यालय गएका बालबालिका घर नफर्कंदासम्म चिन्ताले सताउने गरेको अभिभावक तिलक राईले बताए । ग्रामीण बस्तीमा खोला खोल्सीमा पुल नहुनु सामान्य हो, तर ठूला खोलामा समेत पुल छैनन्,उनले भने । घाँसरदाउराका लागि वारपार गर्न सुकेका रूख, ट्युब र बाँसको भरमा नदी वारपार गर्दा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेको चौबीसे गाउँपालिका ५, सदामटारकी दीपा माझीले सुनाइन् । बाक्लो बस्ती रहेको स्थानमा पनि पुल अभाव छ ।

स्थानीयले पुलको माग गर्दै आएको वर्षौं भइसकेको छ । चुनावताका आश्वासन पाए पनि अन्य बेला बेवास्ता गरिने उनले गुनासो पोखिन् । ‘हाम्रा माग चुनावपछि सेलाउने गर्छ,उनले भनिन् । सदामटारस्थित तमोर नदीमा पुल छैन । हिउँदमा पानीको सतह घटे पनि अत्यधिक चिसोले पौडन सास्ती हुने स्थानीय बताउँछन् । तमोर तर्दा दाउराको चेफाको सहारा लिनुपर्ने सदामटारका सुरेन्द्र न्यौपानेले बताए । ‘घाँसरदाउरा होस् वा वारिपारि मेलापात गर्दा चेफाकै भर पर्नुपर्छ,’ उनले भने, पुलको माग त वर्षौंदेखि गरिएको हो, कसैले सुन्दैन । सदामटारबाट नदीपारि रहेको छथर जोरपाटी गाउँपालिका क्षेत्रमा खेतबारी भएकाले आवतजावत गरिरहनुपर्ने हुँदा पुल अभावमा सास्ती खेप्नुपरेको स्थानीय महेन्द्र न्यौपाने बताउँछन् । फलामेटार, सदामटार र चौबीसे ४ को भैंसेटार, देउरालीघाट क्षेत्रमा पनि पुल अभावमा स्थानीयले ज्यान जोखिममा पार्दै नदी वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । महालक्ष्मी नगरपालिकाको तल्लो भेकमा पनि यस्तै समस्या छ । पूर्वसांसद हेमराज भण्डारीका अनुसार बाक्लो बस्ती रहेका क्षेत्रमा स्थानीयलाई राहत पुग्ने गरी विभिन्न स्थानमा झोलुंगे पुल निर्माण गर्न लागिएको बताए । अरुण नदीको ललाहनी, अखुवाटार तथा तमोरको याक्चानाघाट क्षेत्रमा केही वर्षपहिले झोलुंगे पुल बनेपछि स्थानीयलाई राहत पुगेको छ।सहिदभूमि गाउँपालिकाको साप्तिनटार, त्रिवेणीका साथै चौबीसे गाउँपालिकाको फलामेटारस्थित आँपखोलाघाटमा पनि पुल बन्ने क्रममा रहेको भण्डारीले जनाए । अखुवाटार, सदामटार, भैंसेघाटमा पनि झोलुंगे पुल बनाउने प्रक्रिया अघि बढाउने बताए ।

२०७५ माघ २१ गते ८:०७ मा प्रकाशित