समाचारमा बालबालिका

जहाँ ५ कक्षामै टुंगिन्छ पढाइ

चिसो भुँइमा टुक्रे गुन्द्री । चिरा परेका काठले बेरिएका कोठा । त्यहीँ टाँगिएका छन्, च्यातिन थालेका थोत्रा चार्ट । पुस्तक र कापी बोकेर बालबालिका शिक्षक कुरेर बसेका छन् । अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिका–३ तेम्बाथान गाउँको तेम्बाथान आधारभूत विद्यालयको यो अवस्था देख्ने जो कोही दिक्क हुन्छन् । थोत्रो पालमाथि बसेर दोस्रोपटक कक्षा ५ पढिरहेका केही बालबालिका भने कक्षा ६ पढ्न नपाएकोमा चिन्तित देखिन्छन् । ५ कक्षामाथि पढ्न दुई दिन टाढा गुम्बाथानको पाँगर्पू पुग्नुपर्ने भएपछि जुगलको अन्तिम गाउँ दिपुकी १५ वर्षीया पेम्बा शेर्पा अन्योलमा छिन् । ‘कसरी ६ कक्षा पढ्ने हो रु पाँगर्पूमा डेरा लिने ठाउँ पनि छैन । यहाँ ५ कक्षा दोहोर्‍याएर कतिन्जेल पढिरहनु रु’ उनले भनिन् । काठमाडौं गएर पढ्न आर्थिक अवस्थाले नभ्याउने र गुम्बाथानमा डेरा लिने ठाउँ नभएपछि बाध्य भएर भाइले जस्तै कक्षा ५ मा पढिरहेको उनले बताइन् । डाक्टर बन्ने रहर बोकेकी पेम्बाले कक्षा ६ मा पढ्न गुम्बाथान जाने आँट पनि गरिन् । चौंरी पालनबाहेक अरू गतिलो आयस्रोत नभएपछि बुबाआमाले टाढाको गुम्बाथान पाँगर्पू पठाएनन् । ‘चौंरीबाट हुने कमाइ नुनतेल र उपचारमै सकिन्छ, टाढा पढाएर कसरी खर्च जुटाउन भनेर मानेनन्,’ उनले भनिन् । पेम्बाका भाइ मिङमार गत वर्ष ५ कक्षा पास गरे पनि चौंरी गोठालो बन्न मन नभएकाले दोहोर्‍याएर ५ कै पुस्तक पढ्न छोडेका छैनन् । विद्यालय टाढा भएकाले पढ्ने उमेरका सबै चौंरी पाल्न लेकमा गएको कक्षा ५ अध्ययनरत १४ वर्षीय सुनम शेर्पाले बताए । ‘केही त यहाँको ५ कक्षा सकेर बुबाआमासहित काठमाडौंतिर पढ्न गएका छन्, उनीहरू गाउँ आउँदैनन्,’ उनले भने, ‘हामी जान सक्दैनौं रे, त्यसैले यतै ५ मै दोहोर्‍याएर पढ्छौं ।’गाउँमा विद्यालय नहुँदा कृषि र पशुपालनबाट हुने आम्दानी घरखर्चमै ठिक्क हुँदा सामान्य परिवारकाले ५ कक्षाभन्दा माथि छोराछोरी पढाउन नसक्ने कक्षा २ मा पढ्ने १० वर्षीय निमायाङ्जी शेर्पाकी आमा डोल्मा शेर्पाले बताइन् । ‘हामी काठमाडौं पठाएर पढाउन सक्दैनौं । यता माथिल्लो कक्षा पढ्न स्कुल नै छैन,’ डोल्माले भनिन्, ‘सक्नेले काठमाडौं लगेर पनि पढाएका छन् । हाम्रा छोराछोरी ५ कक्षा पढेर चौंरी चराउन जान्छन् ।’

जुगलको ‘कर्णाली’ भनेर चिनिने दिपु, तेगादेखि तेम्बाथानसम्मका बालबालिकाको समस्या उस्तै हो । यी तीन गाउँमा करिब २ सय २० घर छन् । स्थानीय फुर्पा शेर्पाका अनुसार गत वर्ष यी गाउँका ३० बालबालिकाले ५ कक्षा पास गरिसकेका थिए । तीमध्ये १०र१२ जना राजधानी गएर पढ्न थाले । ‘तीबाहेक अरू बच्चा गाउँमा त्यत्तिकै बसिरहेका छन् । गाउँभर ५ कक्षा पढेर बस्ने बालबालिकाको संख्या ३५ हाराहारीमा छ ।’गाउँभर वर्षौंदेखि ५ कक्षा पढेर चौंरी गोठालो बस्न जाने परम्पराजस्तो बनिसकेको उनले बताइन् । न त यहाँ माध्यमिक विद्यालय छ, न त त्यत्रो दिन लाग्ने टाढा पाँगर्पूमा बस्ने डेरा लिन मिल्ने कुनै बजार । यही भएर पनि यहाँका बालबालिकाले कक्षा ५ भन्दामाथि अध्ययन गर्न नसक्ने अवस्था छैन ।चौंरी, बाख्रापालन, कोदो, आलु खेतीमात्रै यहाँका बासिन्दाको आयआर्जन स्रोत हो । भारत या विदेश गएर कमाएका केहीले मात्रै आफ्ना छोराछोरीलाई राजधानी लगेर पढाएका छन् । ‘राजधानी पढ्न गएकाहरू प्रायः फर्कंदैनन् । गाउँमा ५ भन्दा माथि पढेको मान्छे नै भेटिँदैनन्,’ स्थानीय माइला शेर्पाले भने । यहाँका स्थानीय अझै पनि त्यस्तै बिरामी भए ऋण गरेर हेलिकप्टर बोलाउन बाध्य रहेको गाउँका अगुवा साइला शेर्पाले बताए । गाउँमै व्यवस्थित विद्यालय उच्च शिक्षाको लागि आफ्नै अगुवाइमा दर्जनौं पटक गुहार माग्दा पनि नेता र सरकारले केही विकास नदिएको उनले गुनासो गरे । ‘सरकारले यहाँको दुर्गम अवस्था र अभावलाई एकदमै बेवास्ता गरिरहेको छ । सिंहदरबार घेर्ने अवस्थामा पुगिसकेका छौं,’ शेर्पाले भने । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले उच्च शिक्षाका लागि स्थानीय सरकारबाटै कानुनी रूपमा पहल हुनुपर्ने बताए । ‘गाउँपालिकाबाट पहल भएपछि प्रक्रिया अगाडि बढ्छ । सरकारी प्रावधानबाट कुनैव्यवधान छैन,’ उनले भने ।जुगल गाउँपालिकाले भने विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार दिइरहेको र माथिल्लो कक्षा सञ्चालनका लागि प्रयास गरिरहेको जनाएको छ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले विद्यालयमा माध्यमिक शिक्षा नहुँदा समस्या देखिएको कुरा स्वीकारे । ‘दरबन्दीका शिक्षक नटिक्ने समस्याले पनि चुनौती बनाएको छ, ६ भन्दामाथि थप्ने प्रक्रियामा छौं,’ उनले भने ।

एक शिक्षकको भरमा विद्यालय
जुगल हिमालको काखक्षेत्रको मुटु कपाउने सिरेटोबीच तेम्बाथान आधारभूत विद्यालय भूकम्पको चार वर्ष थोत्रो टहरामा चल्यो । भर्खरै एक करोड खर्चेर विद्यालय भवन बने पनि फर्निचर, शौचालयलगायतका सुविधा नहुँदा समस्या उस्तै छ । विद्यालयमा दुई जनाको दरबन्दी भए पनि प्रधानाध्यापक युवराज शर्मा एक्लैको भरमा छ । उनी परीक्षाका लागि प्रश्नपत्र लिन सदरमुकाम चौतारा गएपछि विद्यालय स्थानीय युवती फुर्पा शेर्पा कक्षा चलाउन सघाइरहेकी छिन् । काठमाडौंको बौद्धमा पढ्दै गरेकी फुर्पा गाउँ आएर विद्यालयमा सघाउन थालेकी हुन् । ‘एक्ला प्रधानध्यापकका भरमा चलिरहेको छ, म यत्तिकै सघाउन आएकी हुँ,’ उनले भनिन्, ‘अर्का शिक्षक नबसिदिँदा बालबालिका नियमित आए पनि पढाइ नहुने रहेछ ।’बिजुली नहुँदा अन्धकारमा टुकीकै सहारामा बालबालिकाले पढनुपर्ने बाध्यता बोक्नुपरेको उनले गुनासो गरिन् । ‘एउटा भवन मात्रै बनेको छ, जसमा कक्षाकोठा नपुगेपछि एउटै कोठामा दुई वटा कक्षा चलाइएको छ, बिजोगैबिजोग छ,’ उनले भनिन् । बालबालिकाको लागि विद्यालयमै शौचालय र खानेपानी धारा नहुँदा दिसापिसाब गर्न घरै पुनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

२०७६ माघ २४ गते १०:२१ मा प्रकाशित