समाचारमा बालबालिका

विस्थापित बालबालिका पढाइबाट वञ्चित

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन् । ती विद्यालयमध्ये डाँडागाउँको करुमर्याङ निमावि, लाङटाङको नेपाल राष्ट्रिय प्रावि, राम्चेको अनन्त स्मृति प्रावि, उत्तरगयाको भूमेदेवी प्रावि, हाकुको कालिका प्रावि, तिरु प्रावि र बालउदय प्रावि सञ्चालनमा नआएका हुन् । २०७२ वैशाख १२ गते र २९ गतेको भूकम्पले गाउँ नै विस्थापित भएपछि एक दर्जनभन्दा बढी विद्यालय विस्थापित हुन पुगेका थिए । भूकम्पको त्रास कम हुँदै गएपछि गाउँले केही महिनापछि नै गाउँ फर्किएका थिए । 

तत्कालीन समयमा गाउँले गाउँ फर्किएसँगै गाउँमा आधा दर्जन विद्यालय स्थापना भएका थिए । विद्यालय स्थापना भएका ठाउँमा गत वर्षदेखि नै पठनपाठन सुरु भएको भए पनि विद्यालय स्थापना हुन नसकेका गाउँमा भने विद्यार्थी पढाइ छाडेर बस्न बाध्य छन् । पढाइ छाड्नेमा हाकु, डाँडागाउँ र लाङटाङका बालबालिका बढी छन् । गाउँमा विद्यालय स्थापना गर्नका लागि सरोकारवाला निकायले चासो नदिँदा बालबालिकाको भविष्य अन्योलमा परेको छ ।लाङटाङवासी सुप्पा लामाका अनुसार गाउँमा विद्यालय नभएका कारण १२ जना बालबालिकाले पढ्न पाएका छैनन् । उनले भने, ‘गाउँमा नजिकै विद्यालय छैन, भूकम्पपछि गाउँमा रहेको विद्यालय सञ्चालनमा आउन सकेको छैन, विद्यालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरिरहेका छौं ।

विस्थापित क्याम्पमा विद्यालय स्थापनाको माग 
जिल्लाका हाकु, डाडाँगाउँ, ठूलोगाउँलगायत स्थानबाट विस्थापित भएर बोगटीटार तथा खाल्डेमा बसिरहेका विस्थापितले क्याम्पमा नै विद्यालय स्थापनाको माग गरेका छन् । तिरुबाट विस्थापित भएको कालिका प्रावि गाउँमा स्थापना गर्न लागिएको भन्दै उनीहरूले खाल्डेमा विद्यालय सञ्चालन गर्न माग गरेका हुन् । गाउँमा विद्यालय स्थापना गरेर क्याम्पमा बस्नेको भविष्य अन्धकार बनाउन नहुने उनीहरुको भनाइ छ। हाकुबाट विस्थापित भएर बोगटीटारमा बसिरहेका छेकु लामाले भने, ‘तिरुमा अहिले बालबालिका फर्किएका छैनन् । बालबालिका क्याम्पमा नै छाडेर अभिभावकमात्र गाउँ फर्किएका छन् । जोखिमयुक्त बस्तीमा विद्यालय स्थापना किन गर्नुप¥यो र १’ गाउँ नफर्किएका विद्यार्थी भने क्याम्पबाट नजिक पर्ने विद्यालयमा अध्ययन गरिहेका छन् भने शिक्षकलाई पनि नजिकैको विद्यालयमा राखिएको छ । धुन्चेमा रहेका तीन क्याम्पका बालबालिका रसुवा मावि तथा बोगटीटार र खाल्डेलगायत क्षेत्रमा बसिरहेकाहरू नीलकण्ठ माविमा अध्ययन गरिरहेका छन् । 

शिक्षा कार्यालय गाउँपालिकासँग छलफल गर्दै 
जिल्लामा रहेका अधिकांश कार्यालय चैत २८ गतेभित्रै खारेज हुने भएपछि जिल्ला शिक्षा कार्यालयले स्थानीय तहका पदाधिकारीसँग छलफल अघि बढाएको छ । यसअघि कार्यालयले प्रयोग गर्दै आएको अधिकार स्थानीय तहमा गएपछि कार्यालयले विद्यालय स्थापनाका लागि पहल गरेको हो । ‘गाउँपालिकामा आवश्यकताअनुसार विद्यालय पुनसर््थापित हुन्छ,’ जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले भने, ‘यसका लागि हामी छलफल गरिरहेका छौं । जिल्लाको विकट क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई पढ्नका लागि अन्य विद्यालय जान सहज नहुने भएपछि विस्थापित विद्यालय पुनःस्थापना गर्नैपर्ने उनको भनाइ छ। जिल्लामा ७ वटा विद्यालय विस्थापित भएको र दुईवटा विद्यालय मर्ज भएपछि जिल्लामा अहिले ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । 

२०७४ माघ ५ गते ०८:५५ मा प्रकाशित