समाचारमा बालबालिका

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ। वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ। वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले जानकारी दिए। अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताए। ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले जानकारी दिए।

 २०७५ जेठ २९ गते २:१५ मा प्रकाशित