समाचारमा बालबालिका

आयोडिनयुक्त नुन नपाउँदा गाउँभरि अपांगता

निसीखोला ४ का पूर्णबहादुर घर्तीका २ छोरा र १ छोरी बौद्धिक र शारीरिक अपांग छन् । छोरा चित्रबहादुर र भूमिराज तथा छोरी तालमाया विद्यालय जान सक्दैनन् । उनीहरूलाई दिनभर हेरचाह गर्नुपर्छ । ज्याला मजदुरी गरेर खाने उनको परिवारले तीन सन्तानको हेरचाहमा दिन बिताउनुपर्दा हातमुख जोर्न धौधौ छ । पूर्णबहादुरका जेठो छोरालाई पनि साँझ परेपछि आँखा नदेख्ने समस्या छ । यसबाट पनि समस्या थपिएको छ । बाबुआमा नभए छोराछोरीको ज्यान बचाउने कोही छैन । कमजोर आर्थिक अवस्था र चेतना अभावले बालबालिकाको सामान्य उपचार पनि हुन सकेको छैन । निसीखोला ४ कै नवीन बुढा र मीना बुढाकी दुई वर्षकी छोरी लालमायाको तालु फाटेको छ । बोली फुटेको छैन, हातखुट्टा पनि लुला छन् । ज्याला मजदुरी गर्दै आएको यो परिवारले पनि खर्च अभावले छोरीको उपचार गर्न सकेको छैन । ‘बिहान खाए बेलुकी छैन, कसरी उपचार गर्ने,’ नवीनले भने, ‘जे होला होला, उपचार गर्न सकिन्न । नवीनकी १९ वर्षीया श्रीमती मीनाले २ सन्तान जन्माइसकिन् । सानै उमेरमा विवाह गरेकाले उनी पनि बिरामी जस्तै छिन् । भारी बोक्ने र मजदुरीको काम गर्न कठिन छ । दुई छाक जोहो गर्नै यो परिवारलाई निकै चुनौती छ । अपांगता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेका अनुसार निसीखोलामा मात्र ६ जनाको तालु फाटेको भेटिएको छ । निसीखोला २ का मोतीलाल विककी २३ वर्षीया छोरी जुनकिरी बहुअपांगता भएकी छन् । उनको दुवै खुट्टा चल्दैन । कान नसुन्ने, बोल्न नसक्ने तथा बौद्धिक अपांगता पनि छ । विकले छोरीको उपचारका लागि अहिलेसम्म कतै देखाएका छैनन् । उनका ६ सन्तानमध्ये जुनकिरी कान्छी हुन् । मेलापातको कमाइले उपचार सम्भव नदेखेका विकले छोरीलाई घरमै थुनेर राख्ने गरेका छन् । निसीखोलाको वडा नं। ४, ५ र ६ मा मात्र शारीरिक र बौद्धिक अपांगता भएका २ सय ७७ जना भेटिएका छन् ।

आईएनएफ पोखरा र अपांगता सरोकार संघ बागलुङले गरेको एक अध्ययनमा उनीहरू कसैले पनि आयोडिनयुक्त नुन खान नपाएको पाइएको सीबीआर विशेषज्ञ सूर्यबहादुर कुँवरले बताए । ‘जो–जो अपांगता भेटिए, उनीहरूको घरमा अहिले पनि ढिके नुन खाएको मात्र पाइयो,’ कुँवरले भने, ‘चेतना अभावले यहाँका बासिन्दाले आयोडिनयुक्त नुन खानै जानेका छैनन् ।’ यहीकारण अधिकांशको बौद्धिक अपांगता भएको भेटिएको उनले बताए । यहाँका तीन प्रतिशत महिलाले मात्र गर्भ जाँच गरेको, ५ प्रतिशतले मात्र खोप लगाएको र २ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रेकर्ड छ । ‘स्वास्थ्य संस्था भएर पनि चेतना नभएका, भौगोलिक कठिनाइले पुग्न नसकेका र हाडनातामा विवाह गरेकाहरूमा यो समस्या बढी देखियो,’ कुँवर भन्छन्, ‘अपांगता भएकाहरूमा ७५ प्रतिशत घरपरिवारले ढिके नुन खाएको भेटियो ।’ अन्यले पनि चाडपर्व र पाहुना आउँदा मात्र आयोडिन नुन प्रयोग गरेको पाइएको छ । जिल्ला स्वास्थ्य र सबै वडामा रहेका स्वास्थ्यचौकीको पहिलो जिम्मेवारी चेतना फैलाउने भए पनि अहिलेसम्म आयोडिन नुनबारे प्रचार गरेको थाहै नपाएको निसीखोला ५ का अध्यक्ष हर्कमान बुढाले बताए । ‘ढिके नुन बोकेरै खाइरहेका छौं, हामीलाई पोकाको खाँदा के फाइदा हुन्छ भनेर कसैले पनि सिकाएको छैन, सस्तो पाइने भएकाले ढिके नुन खाएका हौं,’ बुढा भन्छन्, ‘बालबालिका अपांग भएर जन्मन्छन् भन्ने थाहै थिएन ।’

एउटै गाउँमा यति धेरै अपांगता भेटिएकोबारे वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले सामान्य रूपमा लिए । ‘तपाईंहरूले यस्तो भेटेको भए  गाउँपालिकालाई भनिदिन्छौं, केही प्रचारका काम गर्न लगाउँछौं,’ उनले भने, ‘आयोडिनको कमीले बौद्धिक अपांगता हुने प्रबल सम्भावना हुन्छ, त्यसबारे आयोडिन अभियान निसीखोलामा लैजान पहल गर्छौं ।’ बागलुङमा आयोडिनयुक्त नुन बिक्री गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन पनि छ । यो संस्थाले डिलरमार्फत आयोडिन नुन बिक्री गर्छ । फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा पनि मनाउने गर्छ । तर ती सबै अभियान सदरमुकाम आसपासमा मात्र सीमित भएको घिमिरेको टिप्पणी छ । ‘गाउँमा अनिवार्य खानैपर्छ भन्ने अभियान चलाएको भए यस्तो समस्या आउने थिएन,’ उनी भन्छन्, ‘राज्यका संयन्त्रहरूले बेवास्ता गर्दा सिंगो गाउँको हालत कमजोर भएको छ ।’विद्यालयका शिक्षकमार्फत भए पनि आयोडिनयुक्त नुन खाने, गर्भपरीक्षण गर्ने, स्वास्थ्य संस्थामा गएर मात्र सुत्केरी हुनुपर्ने सिकाउन सकेमा समस्या धेरै समाधान गर्न सकिने उनले बताए । कर्पोरेसनका प्रमुख मनोज श्रेष्ठले उक्त स्थानमा डिलरमार्फत नुन पठाउन नसकेको बताए । ‘बुर्तिबाङमा एउटा डिलर छ, उसले कसरी बिक्री गरेको छ म बुझ्ने प्रयास गर्छु,’ श्रेष्ठले भने, ‘अबदेखि ढिके नुन बिक्री नगर्न पनि आग्रह गर्नुपर्ला ।’ सदरमुकामको कर्पोरेसन कार्यालयबाट निसीखोलासम्म प्रचार अभियान लैजान नसकेको उनले स्वीकारे ।

२०७४ माघ २१ गते ०६:५० मा प्रकाशित