समाचारमा बालबालिका

अत्यधिक चिसोका कारण सप्तरीमा थप दुई बालबालिको मृत्यु, जनजीवन कष्टकर बन्दै

शीतलहरको कारण एक्कासि बढेको चिसोले पछिल्लो एक सातायता सप्तरीको जनजीवन निकै कष्टकर बन्न पुगेको छ । शीतलहर र अत्यधिक चिसोको कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार बेलुका स्थानीय बासिन्दा गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीय बासिन्दाले जनाएका छन् । दुवैको शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ । तर प्रहरीले भने ६ जनाको मात्र पुष्टि गरेको छ । विभिन्न स्थानीय तहका जनप्रतिनिधि एवं सम्बन्धित परिवारजनका अनुसार एक सातायता चिसोकै कारण ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको छ । शीतलहर सप्तरीको लागि नौलो नभएपनि पुसको दोस्रो साताबाटै सप्तरीलगायत मध्य मधेसका जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहरका कारण हरेक वर्ष सप्तरीमा मात्रै दुईदर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी स्वीकार्छन् । यद्पि, यससम्बन्धी कुनै ठोस तथ्यांक भने कुनै पनि निकायसँग छैन ।

२०७४ पुस २५ गते प्रकाशित