समाचारमा बालबालिका

जाडोले कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ ।  दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका-७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आइतबार विहान मृत्यु भएको हो । यस्तै गोलबजार-२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो शनिबार मृत्यु भएको थियो । जाडोले बेहोस भएका बालक साहको धामीझाँक्रीलाई देखाउँदा मृत्यु भएको स्थानीय रामभरोसी यादवले बताए । अरु दुई जना जेष्ठ नागरिकहरु भने दमका रोगी रहेको बताइएको छ । जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् । अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जनाएको छ ।

परालको भरमा भरमा जाडो कटाउँदै मुसहर
चिसोका कारण मुसर समुदायका वासिन्दा बढी बिरामी हुने गरेका छन् । पातलो कपडा र परालको आगोको भरमा उनीहरु दिनरात कटाउन बाध्य भएका छन् ।
उनीहरुमा श्वासप्रश्वास सम्बन्धी रोग देखिएको छ । ‘शीतलहरी र चिसो हावा छल्न घरको छैन, घरभित्र हावा सोझै पस्छ’ स्थानीय चिचनी सदाय भन्छिन् ।
शरीर ढाक्ने कपडा नहुँदा पराल ओछ्याएर पराल नै ओढेर दिनरात कटाउन बाध्य भएको मुसहरले बताउने गरेका छन् । ओढ्ने ओछ्याउनेदेखि ताप्नेसम्म परालकै भर छ उनीहरुलाई ।

जाडोमा कम्मल राहात
अत्याधिक जाडो बढेपछि सिरहाको करजन्हा नगरपालिका(७ प्रेमनगरको दलित वस्तीमा धुर्मुस सुन्तली फाउन्डेसनले ६५ परिवारलाई कम्वल वितरण गरेको छ । कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडाको अभावमा आगोको भरमा दिन वितारइरहेका मुसहर दलितहरुले कम्वल पाएपछि खुसी व्यक्त गरेका छन् । त्यसैगरी बिष्णुपुर गाउँपालिकाले बिपन्न गरीब घर परिवारलाई कम्बल बितरण गरेको छ । गाउँपालिकाका ५ वटै वडामा रहेको गरीब, दलित, असाहय २५० घर परिवारलाई कम्मबल बितरण गरेको छ । गाउँपालिकले इलाका प्रहरी कार्यालयल बिष्णुपुरमार्फत कम्वल प्रदान गरेको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी गराए को छ ।

२०७४ पुस २३ गते १०:५३ मा प्रकाशित