समाचारमा बालबालिका

थलिए बादी बालबालिका

केही दिनयता जाडो निकै बढेको छ । बिहान र साँझको समयमा त झन् घरबाहिर निस्कनै नसकिने अवस्था छ । घरभित्र बस्नका लागि पनि कि त न्यानो लुगा चाहिन्छ कि त आगोको सहारा लिनुपर्छ । पुसको ठिहिर्‍याउने जाडोमा पनि लुगाको जोरजाम गर्न नसक्दा बझाङका बादी समुदायका बालबालिकाहरू भने नांगो शरीर जाडोको सामना गरिरहेका छन् । कतिसम्म भने जाडोका कारणकठ्यांग्रिएर केटाकेटीहरू बेहोस हुने गरेका छन् ।

दलितभित्रको पनि दलितका रूपमा चिनिने बादी समुदायको माटोका भाँडाकुँडा बनाउने र नाचगान गर्ने पुख्र्यौली पेसा विस्थापित भइसकेपछि उनीहरू मागेर गुजारा चलाइरहेका छन् । अरूले दया गरेर दिएको अन्नपातले गुजारा चलाइरहेको भए पनि जाडोमा छोराछोरीको आङ ढाक्ने कपडा नपाएपछि समस्या भएको थलाराकी पुनी बादीले बताइन् । ‘घाम लागेका दिन दिउँसो घाममा गएर पल्टिन्छौं । रातभर आगो तापेर जाग्राम बस्ने गरेका छौं,’ ४ छोराछोरीकी आमा पुनी बादीले भनिन्, ‘हामीले जस्तो भए पनि सहेकै थियौं । बच्चाहरू जाडोले थरथरी काप्छन् । दाउरा नभएको दिन रोएरै रात काट्छन् ।’ केही हप्ताअघि जाडोले कठ्यांग्रिएर उनकी ६ वर्षकी छोरी बेहोस भएको सुनाउँदै पुनीले भनिन्, ‘कतिबेला आगो निभेछ, थाहा भएन । निद्रा खुल्दा जाडोले छोरीको शरीर नीलो भएको थियो । आगो फुकेर निकैबेर तताएपछि आधा घण्टापछि आँखा खोलेर रोई । ‘दिउँसो त घाम लाग्छ । खासै गाह्रो हुँदैन,’ ९ वर्षीया निर्मला बादीले भनिन्, ‘साँझ पर्न थालेपछि जाडोले सताउँछ । कति बेला घाम लाग्ला भनेर कुर्दै बस्छौं ।

जनता आवासअन्तर्गत नयाँ घर बनाइदिने भनेर पहिलेका टहरा भत्काएपछि अहिले बझाङको चैनपुर र थलारामा रहेका २८ परिवार बादी अस्थायी टिनका टहरामा रात काटिरहेका छन् । मंसिरभित्रै निर्माण सम्पन्न हुनुपर्ने भनिए पनि थलाराकाबादी समुदायका घर बन्न अझै दुई महिना जति लाग्ने भएको छ । चैनपुरका बादीको घर निर्माणको काम ठेकेदारमार्फत भइरहेकाले ४ महिनाअघि जग हालेर छोडिएको छ । त्यसपछि कुनै पनि काम भएको छैन । ढोका पनि नभएका खुला टहरामा रात बिताउन निकै सकस भइरहेको चैनपुरकी राधा बादीले बताइन् । उनले भनिन्, ‘बच्चाहरू बिरामी हुन थालेका छन् । रातभर आगोमा अनिदै बस्नुपर्दा धूवाँले खोकी लाग्ने र अनुहार सुन्निने गरेको छ । साना नानीहरूमध्ये धेरैजसोलाई निमोनियाँ भएको उनले बताइन् । ‘गतिलो ओढ्ने–ओछ्याउने लुगा भइदिएको भए यस्तो समस्या हुने थिएन,’ थलाराका मदन बादीले भने, ‘रातिको समयमा टिन चिसिएर शीत बर्सिन्छ । हिउँद कटाउन निकै समस्या भयो ।’ बादीहरूको यो समस्याका बारेमा आफूलाई जानकारी नभएको र जिल्ला दैवी प्रकोप उद्धार समितिले उनीहरूलाई न्यानोलुगा वितरण गर्नका लागि पहल गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।

२०७४ पुस २९ गते प्रकाशित