समाचारमा बालबालिका

बालविवाहले विद्यालय छाड्दै

सदरमुकामबाट ४० किलोमिटर पश्चिमको महाकाली मावि मेहल्ढापमा चालु शैक्षिक वर्षमा चार छात्र र पाँच छात्राले विवाह गरे । कक्षा ९ र १० मा पढ्दै गरेका उनीहरूको उमेर १५ र १६ वर्षमात्रै छ । उनीहरूमध्ये एक मात्र विद्यार्थीले पुनस् अध्ययन गर्न आएकी छन् । जुठापौवाको पटवाचौरबाट अध्ययन गर्न आउने रुमकला रास्कोटीले भने विवाह गरे पनि कक्षा १० लाई निरन्तरता दिएकी हुन् । उनका साथीहरू भने विद्यालय आउन मानेनन् । ‘विवाह गरेपछि विद्यालय आउन मान्दैनन्, अब कसरी भन्न सकिन्छ उनीहरूलाई जाऊँ भनेर,’ उनले भनिन्, ‘साथीहरू घर गरेर बसेका छन् ।’ कलिलो उमेरमा विवाह गर्ने उनीहरू मात्र होइन । अघिल्लो शैक्षिक वर्षमा पनि यही विद्यालयका एक छात्र र तीन छात्राले कक्षा १० उत्तीर्ण नहुँदै विवाह गरे । उनीहरूले पढाइलाई बीचैमा छाडे ।‘विवाह गरेपछि लाज लाग्यो अनि गइएन्,’ रैनादेवी छहरा ३ सुपादहकी झविकला घर्तीमगरले भनिन्, ‘पढाइ निरन्तरता दिन सकिएन ।’ उनले विवाह गरेकामा कुनै पछुतो मानिनन् । उनीजस्ता धेरै साथी विद्यालय आउनै छाडे । उही कक्षा र तल्लो माथिल्लो कक्षाका साथीबीच पनि विवाह हुन्छ । त्यसपछि विद्यालय आउन छाड्ने गर्छन् । पश्चिमका जनजाति बस्तीमा अझै पनि बालविवाह हटेको छैन ।विद्यालयका प्रधानाध्यापक रामबहादुर सोमरे आफ्ना कक्षा ९ र १० का विद्यार्थीमा बालविवाह कायमैभएको स्वीकार्छन् ।

उनका अनुसार प्रत्येक वर्ष कम्तीमा ७र८ जनाले विवाहकै कारण पढाइ छाड्ने गरेका छन् । ‘हाम्रा अभिभावकमा चेतनाको कमी छ,’ उनले भने, ‘सबैलाई घरघरमा पुगेर यस विषयमा सम्झाउन सकिएको छैन ।’ जसले गर्दा प्रत्येक वर्ष यही समस्या आउने गर्छ । हुन त विद्यालयमा विद्यार्थी संख्या राम्रो छ । कक्षा ९ र १० मा गरेर १ सय ५० भन्दा बढी अध्ययरत छन् । त्यसैले पनि दुई–चार विद्यार्थी विवाह गर्दैमा खासै असर गर्दैन । ‘त्यस्तो पक्कै होइन,’ उनले भने, ‘हामीले विद्यार्थीलाई भनेका हुन्छौं, तर पनि रोकिएको छैन ।’ कक्षा १० सम्म विद्यालयमा ४ सय १५ विद्यार्थी छन् । विभिन्न गैरसरकारी र सरकारी संस्था, प्रहरीले बालविवाहविरुद्ध प्रचारात्मक अभियान चलाए पनि यहाँ निष्प्रभावी जस्तै छ । महिला तथा बालबालिका कार्यालयल र केही गैरसरकारी संस्थाले पनि सचेतना अभियान चलाएका छन् । शिक्षाका शाखा अधिकृत महेन्द्र सुवेदीले स्थानीयको चालचलन, रहनसहन र देखासिकीकै कारण हुने गरेको बताए ।‘आफूभन्दा अगाडिका दाजुदिदीको देखासिकीलाई उनीहरूले पनि सिकेका हुन्छन्,’ उनले भने, ‘जसले गर्दा सामाजिक रूपमै चेतना जगाउन नसक्दासम्म कायमै रहने अवस्था छ ।’ मेला, पर्व र जात्रा हुँदा मन मिलेर हिंड्ने र आफ्नो उमेरका साथै पढाइलाई ध्यान नदिने गरेकोउनले बताए । जसले गर्दा विद्यालयमा कक्षा ८ देखि १० सम्म पढुन्जेल केही बस्तीमा विवाह भइसक्ने गरेको छ । कक्षा ८ सम्म पुग्ने र कक्षामै रहने ८० प्रतिशत छन् भने १० सम्म पुगेर रहने ८३ प्रतिशत रहेको शिक्षाले जनाएको छ । ०६८ को जनगणनामा १५ देखि १९ वर्ष उमेरभित्र जिल्लाका ५१ प्रतिशत किशोरकिशोरीको विवाह हुने गरेको छ । जसमा ३४ दशमलव ३३ प्रतिशत पुरुष र ६१ दशमलव १० प्रतिशत महिला छन् । जनगणनाअनुसार १४ वर्षमुनि विवाह हुनेहरू १० दशमलव ७३ प्रतिशत छन् । पुरुष ३ दशमलव ४६ प्रतिशत र महिला १५ दशमलव १५ प्रतिशत रहेको छ । सानो उमेरमा विवाह गर्दा उनीहरूको प्रजनन अंगको पूर्ण विकास भएको हुँदैन ।

 २०७४ चैत्र १० गते ११:४९ मा प्रकाशित