समाचारमा बालबालिका

बालविवाहले बिग्रँदै घरबार

रूपन्देही कम्हरियाकी पूजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । १२ वर्षको उमेरमा बिहे भएर माइतमै बस्दै आएकी उनी केटापक्षले गौना लिन (साइत छोपेर) आउने दिन कुर्दाकुर्दै पतिले अर्को बिहे गर्दा अलपत्र परेकी छन् । विद्यालय नपढेकी भन्दै पूजाका पतिले अर्कै बिहे गरेका हुन् । रोहिणी गाउँपालिका छोटी रामनगरकी आशा पासीलाई होची भन्दै गौना गर्न नमानेपछि घरजम हुन सकेको छैन । बिहेपछि पति र परिवारसँग उनको भेट नै भएन । ‘बिहे गरेकी जवान छोरी माइतै अलपत्र परिन् । न्यायका लागि पटक–पटक गाउँका अगुवाबसियो केही भएन ।’ आशाकी आमा रमावतीले गुनासो गरिन् ।

जिल्लामा पछिल्लो समय पूजा र आशाजस्तै बालविवाह गरेका धेरै किशोरी अलपत्र परेका छन् । पति आउने र लैजाने प्रतीक्षामा सिउँदो रंगाएर बसेका उनीहरूका पति अर्कै घरजम गरेर बसेकपछि अलपत्र परेका हुन् । विवाहपछि दुलाहाले पहिलो पटक दुलही घर लिएर जाने परम्परालाई मधेसी समुदायमा ‘गौना’ भनिन्छ । सानैमा बिहे हुने भए पनि किशोरी नभएसम्म माइतमै छाडिन्छ । किशोर उमेरमा दिन जुराएर केटा पक्षले दाइजोसहित दुलही वा गौना लैजाने चलन छ । सानैमा अभिभावकले बिहे गरिदिए पनि पछि केटाले पढाइ, दाइजो, सुन्दरतालगायतमा खोट देखाएर नस्वीकार्दा धेरै किशोरीको घरबार खोसिएको छ । भुक्तभोगीहरूका अनुसार बिहेपछि प्रायस् अभिभावकहरू बालिकालाई पढ्न छुटाउँछन् । केटा पढ्दै गर्छन् । पढेलेखेका केटाले आफ्नो स्तरकी केटी बिहे गर्दा जेठी पत्नी अलपत्र पर्छिन् । बालविवाह बढी हुने गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारू जातिमा ‘गौना’ तोडिने समस्या बढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय रूपन्देही प्रमुख शारदा बस्यालले सानैमा बिहे भएपछि यौवनमा घरबार गर्दा उनीहरूबीच बेमेल भएको बताउँछिन् । ‘अभिभावकले बालविवाह गराएको सजाय किशोरीले भोगेका छन्,’ उनले भनिन्, ‘घरै नभित्र्याउने र घर लगेर किशोरीमाथि हिंसा हुने गरेको छ ।’ यो समस्या हटाउन बालविवाह नै रोक्नुपर्ने बस्याल सुझाउँछिन् । जिल्लामाधार्मिक संस्कार र गरिबीका कारण बालविवाहधेरै हुने गरेको छ ।

२०७४ माघ २० गते १०:०० मा प्रकाशित