समाचारमा बालबालिका

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन। वर्षातका कारण कारङ्ग खोलामा निर्माण गरिएको काठको पुल बाढीले बगाएपछि असारबाट विद्यार्थीहरू विद्यालय जान सकेका छैनन्। विद्यार्थीहरू गाउँमा रहेको प्राविमा ५ कक्षासम्म अध्ययन गरेपछि ६ कक्षा अध्ययन गर्नका लागि २ घण्टा पैदल हिँडेर रायास्थित हुम्ला माध्यामिक विद्यालय पुग्ने गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ का दलित महिला सदस्य जुनेली कामीले बताइन। निर्वाचनका बेला गाउँपुग्ने विभिन्न राजनीतिकदलका नेताले पक्की पुल बनाइदिने आश्वासन दिए तर कोही कसैबाट सुनुवाई नभएको स्थानीयबासी बिबेक शाहीले बताए। साविकको राया गाउँ विकास समितिले काठे पुल निर्माणका लागि विनियोजन गरेको ५० हजार र कारङ्गका स्थानीयबासीले २ पटक जनश्रमदानबाट निर्माण गरिएको काठ पुल बगेपछि विद्यार्थीलाई समस्या भएको स्थानीय विष्णु बहादुर शाहीले दुखेसो पोखे। दैनिक बालबालिकालाई खोलामा रहेको एउटा काठको ड्याममा तार्नुपर्छ एक्लै बालबालिका पठाएमा खोलाले बगाउला भन्ने डरले दैनिक खोला तार्नुपर्ने बाध्यता रहेको शाही बताउछन्।  घरबाट बिहानै ७ बजे खाना खाएर विद्यालय जाने खार्पुनाथ गाउँपालिका ३ कारङ्ग गाउँका बालबालिका खोला तर्न समस्या हुँदा खोला मै रोकिन्छन।

विद्यार्थीहरू कहिले बाटो हिँडने बटुवा आएपछि खोला तार्न सहयोग माग्छन भने कहिले खोलामा पुगेर खोला तराउने मान्छे नहुँदा त्यहीबाट घर फर्किन्छन्। खोलाबाट विद्यालय नगइ घर फर्कनुपर्ने बाध्यताले यहाँका १४ जना बालबालिका ३ महिनादेखि विद्यालय जान नसकेका हुन्। खोलाका कारण समयमै विद्यालयमा नपुग्दा हाजिरी समेत छुट्ने र शिक्षकले कक्षा कोठामा पस्न नदिएर बाहिर नै राख्ने जस्ता सजाय दिने गरेको हुम्ला माविमा अध्ययन गर्ने छात्रा विनिता शाहीले बताइन। खोला तर्न डर लाग्छ कहिले घरबाट बुवाले खोला तारेर घर फर्किनु हुन्छ त कहिले बाटोमा आवतजावत गर्नेसँग सहयोग माग्छौं हुम्ला माविको ६ कक्षामा अध्ययनरत छात्रा निर्माला शाहीले भनिन्। विद्यार्थीले जोखिम मोलेर काठको पुल तर्नुभन्दा विद्यालयमा छात्राबास भएको बेलाबेला छात्राबास बस्न समेत आग्रह गरेको तर अभिभावकले कुनै पनि चिन्ता चासो नदेखाएको हुम्ला माविका प्रधानाध्यापक विवि रावलले बताए। स्थानीयको माग अनुसार कारङ्ग खोलामा ट्रसब्रिज बनाउनुको सट्टा साविकका गाविसले जस्तै गाउँपालिकाले पनि टुक्रे योजना दिन थालेको छ। यसरी जति काठे पुल निर्माण गरेपनि वर्षाको भेलले बगाउदा कारङ्गका ४४ घरधुरीलाई आवतजावतमा समस्या हुने गरेको छ। काठे पुल बनाएपनि भेल बढेपछि बगाउने समस्याले वर्षेनी त्यहाँका स्थानीय चिन्तित छन्। 

२०७५ भदौ १६ गते २:०५ मा प्रकाशित