समाचारमा बालबालिका

कुलतमा फस्दै किशोरकिशोरी

नेपाल भारत सीमा जमुनाहा नाकामा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न बालबालिका पक्राउ पर्न थालेका छन् । पक्राउ पर्ने अधिकांश २० वर्षमुनिका छन् । कोहलपुर नगरपालिका ११ का १६ वर्षीय पूवराज शाही लागूऔषध सेवन गरेको अवस्थामा नेपालगन्ज जमुनाहा नाकाबाट समातिए । नेपालगन्जका १३ वर्षीय मुकेश धोबीलाई पनि प्रहरीले लागूऔषध सेवन गरेकै अवस्थामा पक्राउ गर्‍यो । सुर्खेत बाबियाचौर गाउँपालिका ९ का १७ वर्षीय किरण बयकलाई प्रहरीले ६ सय ३ ट्याबलेट नाइट्रो भ्याट नामक लागूऔषधसहित नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । उनले यसअघि पनि भारतबाट लागूऔषध ल्याएर बिक्री गर्दै आएको प्रहरीले बताए । जमुनाहास्थित प्रहरीका अनुसार साउनमा मात्रै लागूऔषधसहित ११ पक्राउ परिसकेका छन् । तीमध्ये पनि अधिकांश २० वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । असार महिनामा लागूऔषधसहित १७ पक्राउ परेको जमुनाहा प्रहरीले जनाएको छ । ‘दैनिक दुईरतीन जना लागूऔषध सेवनकर्ता नाकाबाट समातिन्छन् । तीमध्ये सबैजसो किशोर नै छन्,’ सीमास्थित इलाका प्रहरीका प्रमुख सई सुनील शाहले भने, ‘धेरैजसो नयाँ पुस्ताका युवाले लागूऔषध सेवन गरिरहेको पाइएको छ । प्रहरीले सेवनकर्तालाई पक्राउ गरी अर्कोपल्ट गल्ती नदोहोर्‍याउने कागज गराएर छोड्ने गरेको छ । तर, लागूऔषधसहित पक्राउ परेकालाई भने मुद्दा नै चलाउने गरेको छ । कुलतमा फसेका बालबालिकाले जुत्ता, चप्पल टाल्न प्रयोग गरिने सोलुसनलाई लागू औषधका रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरूले फालिएका प्लास्टिकका झोला वा सीसीमा सोलुसन राखेर मुखले जोडले फुकेर नशा लिने गर्छन् । सवारी साधनका पन्चर भएका ट्युब टाल्न पनि सोलुसनको प्रयोग गरिन्छ । त्यसलाई लागूऔषध नमानिने भएकाले भारतीय बजारबाट ल्याउन सजिलो छ । १० देखि १५ वर्षमुनिका बालबालिकाले पनि यसरी लागूऔषध प्रयोग गरेको पाइएको छ । सडक बालबालिका, अभिभावक गुमाएका र परिवारले निगरानी नगर्दा कुलतमा फस्ने गरेका छन् । लागूऔषधका रूपमा प्रयोग हुन थालेपछि सोलुसनको बिक्री पनि बढेको छ । उक्त समान भारतीय बजारबाट ल्याउँदा सीमामा खासै नरोकिने भएकाले कुलतमा फसिसकेका व्यक्ति र व्यवसायीले सजिलै यी सामान ल्याउने गरेका छन् । अचेल लागूऔषध गाउँमा पनि पाउन थालिएको छ । झोलमा पाइने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै सहज रूपमा पाइन्छ । लागूऔषधको कुलतमा बालबालिका अत्यधिक मात्रामा फसिरहेको स्थानीयले बताए । नेपालगन्ज र कोहलपुरमा लागूऔषध प्रयोगकर्ता देखिन्थे । देखासिकीमा गाउँका युवा र बालबालिका दुव्र्यसनीमा फस्न थालेका हुन् । लागूऔषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरू त्यसतर्फ आकर्षित हुन थालेका हुन् । नेपालगन्ज र यस आसपासको क्षेत्र अहिले लागूऔषध कारोबार र प्रयोगकर्ता बालकालिकाको केन्द्रविन्दुजस्तै बन्न पुगेको छ । खुला सीमाका कारण यहाँको लागूऔषध तस्करी नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ भने गिरोहको चलखेल बढदै गएको छ । लागूऔषध तस्करीमा प्रयोग गरिएका भरियालाई प्रहरीले दैनिकजसो पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ । लागूऔषधसहित पक्राउ पर्नेले प्रहरीमा बयान दिँदा पैसाको प्रलोभनमा परेको र तस्करी गराउनेलाई नचिनेको बताउने गरेका छन् ।

 २०७५ साउन १८ गते १०:१३ मा प्रकाशित