समाचारमा बालबालिका

विद्यार्थी आकर्षित गर्न खाजा

म्याग्दे गाउँपालिकाले सबै आधारभूत तहका विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी अभाव हुने गरेको छ । ग्रामीण बस्तीका अभिभावकले छोराछोरीलाई सहरी क्षेत्रमा पढाउन थालेपछि धेरैजसो विद्यालय बन्द हुने अवस्थामा पुगेकाले खाजा दिएर विद्यार्थी तान्न खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए। गाउँपालिकाले आफ्नो क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने २१ विद्यालयलाई दिवा खाजाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता शिवशरण वाग्लेले बताए । गाउँका विद्यार्थी आकर्षक सेवा र सुविधा खोज्दै सहर झर्दा विद्यालय बन्द हुने अवस्था देखिएको छ’, उनले भने, अब प्रयोगका रुपमा यस वर्षबाट खाजा दिन थालेका छौं । २१ विद्यालयमा अध्ययनरत झण्डै आठ सय विद्यार्थीले यो सुविधा पाउँनेछन्। गाउँपालिकाले हरेक विद्यालयलाई खाजा पकाउने सामग्री,ग्यास तथा तालिमसमेत प्रदान गरेको छ।विद्यालयले हरेक विद्यालयलाईप्रति विद्यार्थी १५ रुपैयाँ खाजा खर्च दिने गरेको छ । यसमा अभिभावकले पाँच रुपैयाँ लगानी गर्नुपर्नेछ । अभिभावकको सहभागीताका लागि न्यून शुल्क राख्न लागेका हौं, प्रवक्ता वाग्लेले भने । सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको मुख्य कारण शैक्षिकस्तर भएकाले त्यसमा सुधार गरिने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए । निजीका तुलनामा सामुदायिकमा पढाइ खस्किएकाले शिक्षाको गुणस्तर उकास्न प्रयास थालेका छौं’,उनले भने । गाउँपालिकाले शिक्षकलाई तालिमका साथै सकेसम्म विद्यालयमा विषय शिक्षक राख्ने र भएका शिक्षकबाट गुणस्तरीय शिक्षा दिन व्यावस्था गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विजयराज बडुले बताए ।

२०७५ मंसिर ५ गते १२:०२ मा प्रकाशित