समाचारमा बालबालिका

भेदभावको नमुना : छोरा बोर्डिङमा, छोरी सामुदायिक विद्यालयमा

रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । बबिता विश्वकर्मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । उनका तीन भाइ र एक बहिनी छन् । बबिताका तीनै भाइ सुरज, सुरेश र दिनेशनजिकैको निजी विद्यालयमा पढिरहेका छन् । तर, उनी र बहिनी कविता भने सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालयमा कक्षा १० को छात्रातर्फ क्याप्टेनसमेत रहेकी बबिताले छोरा र छोरीमा भएको विभेदका कारण भने खोजेकी छैनन् । बबिता भन्छिन्, ‘बहिनी र म पहिलेदेखि यही स्कुलमा पढ्छौँ, तीनवटै भाइ बोर्डिङमा पढ्छन् । किन त्यसो भयो थाहा छैन । तेनुहवा सामुदायिक माविकी बबिता एउटा उदाहरण मात्र हुन् । रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका दक्षिणी क्षेत्रमा यस्तो समस्या धेरै छ । सो क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा उस्तै अवस्था छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित मोतीभारी निमावि (आधारभूत) तहमा पनि उस्तै समस्या छ । मोतीभारी निमाविका प्रधानाध्यापक ओमप्रकाश पाण्डेयले सो विद्यालयमा ७० प्रतिशत छात्रा भर्ना गरेको बताए । पाण्डेयले भने, ‘केटीलाई सरकारी र केटालाई बोर्डिङमा पढाउने समस्या अझै पनि छ ।

सम्बन्धविच्छेद गरेर पढाइलाई निरन्तरता
कतिपय समुदायमा अभिभावक सचेत नहुँदा बालिकाको शिक्षामा समस्या हुने गरेको छ । छोरीलाई सानैमा विवाह गरिदिने चलनले पनि उनीहरूको पढाइमा समस्या आउने गरेको हो । कतिपयले विवाह गरेपछि परिवारबाट पढ्न अनुमति नपाउने र मानसिक रूपमा पीडा पाएपछि सम्बन्धविच्छेद गरेर पनि अध्ययनलाई निरन्तरता दिएका छन् । रुपन्देहीको तेनुहवा सामुदायिक माविमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा उर्मिलाको विवाह भएको थियो । अभिभावकको दबाबमा विवाह भएपछि परिवारले अध्ययन गर्न नदिएपछि उर्मिलाले सम्बन्धविच्छेद गरेर पनि पढाइलाई निरन्तरता दिएकी छिन् । अहिले प्राविधिक धारबाट माध्यमिक शिक्षा परिक्षा दिएकी उर्मिलाको पढाइ राम्रो रहेको शिक्षकको भनाइ छ । सो विद्यालयका प्रअ मोहम्मद इलियसले सम्बन्धविच्छेद गरेर भए पनि पढाइमा राम्रो गरेको बताए ।

बालविवाहले छात्राको पढाइमा समस्या
तेनुहवा सामुदायिक मावि रहेको क्षेत्रमा मुस्लिम समुदायको बाहुल्य छ । सो विद्यालयका प्रअ मोहम्मद इलियसका अनुसार किशोरी १४/१५ वर्षका भएपछि विद्यालय आउन नदिने समस्या छ । इलियसका अनुसार ठूला भएपछि कि त मदरसा कि विद्यालय नै छाड्ने गरेका छन् । अभिभावक सचेत नहुँदा समस्या भएको उनको भनाइ छ ।

संस्कारका कारण समस्या
कपिलवस्तुका शिक्षा विकास तथा समन्वय एकाइका उपसचिव बाबुराम भट्टराईले सामाजिक मूल्य र मान्यताका कारण दक्षिणी भेगमा छोरा र छोरीमा विभेद रहेको बताए । उनले भने, ‘अभिभावक जागरुक नहुँदा छोरीले पढेर केही हुँदैन भन्ने गरेका छन् । संस्कारका कारण पढ्न चाहने छोरीले पनि पढ्न पाएका छैनन् कतिपय विद्यालयमा पुस्तक लिन र परीक्षा दिन मात्र आउने गरेका छन् । अभिभावक सचेत भएका ठाउँमा शिक्षा राम्रो भएको उनको भनाइ छ ।

जनचेतना जगाउँदै छौँ स् मेयर चौधरी
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले अभिभावकलाई सचेत गराउने बताए । छोरा र छोरीलाई गर्ने व्यवहारमा विस्तारै सुधार आएको र हटाउँदै जाने उनले बताए । मुस्लिम समुदाय भएको क्षेत्रमा छात्रालाई मदरसामा पठाउने गरेको उनले बताए ।

छोरी घरको काममा, छोरा विदेशमा
जिल्लाका दक्षिणी भेगमा बीचैमा पढाइ छाड्ने समस्या पनि छ । माध्यमिक तहमा पुग्दा किशोरीको विवाह हुने, कतिपयले घरको काम गर्न विद्यालय नपठाउने समस्या छ । कतिपय छात्रले उमेर बढाएर पासपोर्ट बनाउने र वैदेशिक रोजगारीका लागि जाने गरेको स्थानीयको भनाइ छ । प्रधानाध्यापक इलियसले विद्यालयमा १० प्रतिशत ड्रप–आउट रहेको बताए । छात्रा १४/१५ वर्षको भएपछि विद्यालय नपठाउने १६ वर्षको भएपछि उमेर बढाएर विदेश जाने गरेको उनको भनाइ छ । कतिपय विद्यालयका प्रधानाध्यापकले बालविवाह गरेका र घरको कामले विद्यालय छाडेका छात्रालाई पहल गरेर विद्यालयसम्म ल्याउने गरेका छन् । कपिलवस्तुको मोतीभारी निमाविका प्रधानाध्यापक ओमप्रकाश पाण्डेयले बालविवाह गरेर केही वर्ष पढाइ छाडेका आठजना छात्रालाई विद्यालयमा भर्ना गरेका छन् । सोही विद्यालयमा अध्ययनरत सुन्दरी चाईले भाइको अप्रेसन गर्नुपरेकाले बीचमै पढाइ छाडेकी थिइन् । उनी अहिले कक्षा ८ मा भर्ना भएकी छिन् । सोही विद्यालयका तारा कुर्मीले पढाइ छाडेर अहिले पुनः कक्षा आठमा अध्ययन सुरु गरेकी छिन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित छत्रपाली तीर्थादेवी माविमा माथिल्लो तहमा छात्राको ड्रप–आउटको समस्या छ । सोही विद्यालयका शिक्षक मणिराम पन्थीका अनुसार चालू शैक्षिक सत्रमा भर्ना भएर छात्राले कक्षा छाडेको बताए । केहीको विवाह भएको र केही ठूला भएपछि अभिभावकले विद्यालय आउन नदिने समस्या रहेको उनले बताए । ‘विवाह भएपछि छात्राका दुलाहालाई पढ्न पढाउन आग्रह गर्दा पनि आएका छैनन्,’ पन्थीले भने, ‘सामाजिक संस्कारका कारण केटीलाई केटासँग खुलेर बोल्न र हिँड्न दिँदैनन् ।’ कक्षामा केटा र केटीसँगै बस्दा पनि अपाच्य हुने गरेको छ ।

२०७५ जेठ १० गते प्रकाशित