समाचारमा बालबालिका

अपराधमा बालबालिका प्रयोग घट्दै

प्रदेश १ मा आपराधिक घटनामा बालबालिका प्रयोग घटेको पाइएको छ । प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकले अपराधमा बालबालिकाको संलग्नता र प्रयोगको दरमा कमी हुँदै गएको देखाएको हो । यसअघि अपराधमा बालबालिकाको संख्या बर्सेनि बढिरहेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर, पछिल्लो समय आपराधिक घटनामा बालबालिका प्रयोग घट्दै जानुले समाजमा सकारात्मक सन्देश दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीएसपी सुमन तिमल्सिनाले बताए । प्रहरीका अनुसार हत्या, ज्यान मार्ने उद्योग, चोरी, डकैती, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, सार्वजनिक अपराध, लागुऔषध, बाल विवाह, हातहतियार खरखजानालगायत आपराधिक घटनामा बालबालिकाको संलग्नता देखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रदेशभरि विभिन्न आपराधिक घटनामा १ सय नौ बालबालिका संलग्न रहेकोमा १ सय चार जना बालक छन् । पछिल्लो एक वर्षमा १६ वर्षमुनिका १ सय नौ जना बालबालिका आपराधिक घटनामा संलग्न रहेको पाइएको डीएसपी तिमल्सिनाले बताए । आव २०७३/७४ को तुलनामा गत आवमा अपराधमा संलग्न बालबालिकाको संख्या ७९ ले कम हो । आव २०७३/७४ मा १ सय ८८ बालबालिका आपराधिक कार्यमा मुछिएका थिए, जसमा १० बालिका र १ सय ७८ जना बालक छन् । उनका अनुसार आव २०७२/७३ मा २ सय ३९ बालबालिका आपराधिक कार्यमा संलग्न भएको पाइएको थियो । उक्त वर्ष २ सय २८ बालक र ११ बालिका आपराधिक क्रियाकलापमा संलग्न रहेको तिमल्सिनाले बताए ।

आव २०७१/७२ सम्म अपराधमा संलग्न बालबालिकाको संख्या बर्सेनि वृद्धि हुँदै गएको पाइएको थियो । उक्त वर्ष ३ सय ५० बालबालिका आपराधिक कार्यमा मुछिएका थिए । त्यसपछिका वर्षमा भने त्यो संख्या निरन्तर घटिरहेको छ । ‘कतिपय घटनामा बालबालिका आफैं लागेको पाइएको छ’, प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले भने,कतिपयमा अञ्जानमा वा कसैले बालबालिका प्रयोग गरेर घटना गराउने गरेको पाइयो ।’प्रदेश १ का १४ जिल्लामा आव २०७४/७५ मा हत्याका १ सय आठवटा घटना भएका छन् । यीमध्ये एउटा हत्याको घटनामा बालक र एउटामा बालिकाको संलग्नता रहेको पाइएको छ । ज्यान मार्ने उद्योगमा एक, चोरीमा १४,जबर्जस्ती करणीमा २१, करणी उद्योगमा सात, केही सार्वजनिक अपराधमा ४७ र लागुऔषध ओसारपसार आरोपमा १७ बालबालिकाको संलग्नता देखिएको डीआईजी रिजालले बताए । अपराधमा संलग्न बालबालिकालाई विराटनगरस्थित बाल सुधार गृहमा राखेर घटनाबारे अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने गरिएको प्रहरीले जनाएको छ । ‘बालबालिका अपराधमा संलग्न हुनबाट जोगाउने मुख्य भूमिका परिवारका सदस्यकै हुन्छ’, उनले भने, ‘अन्य निकाय तथा सम्बन्धित सरोकारवालाले पनि बालबालिकालाई अपराधमा लाग्नबाट जोगाउन भूमिका खेल्न सक्नुपर्छ ।

२०७५ साउन २५ गते ११:४३ मा प्रकाशित