जंगलमा किशोर-किशोरीको शव फेला
https://ekantipur.com/pradesh-7/2020/10/31/16041240289323554.html, कार्तिक १५, २०७७
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावरी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।
दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र शनिबार बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । 'दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ,' प्रवक्ता थापाले भने, 'घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।'
घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।