समाचारमा बालबालिका

बालबालिका निरन्तर चितुवाको सिकार

२०७४ फागुनदेखि तनहुँका विभिन्न गाउँका बालबालिका चितुवाको आक्रमणमा पर्न थालेका थिए। त्यो शृंखला अझै रोकिएको छैन। बारम्बार खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइए पनि बालबालिकालाई चितुवाले सिकार बनाउने क्रम अझै जारी छ। त्यसैको पछिल्लो पछिल्लो शृंखलामा आइतबार आँबुखैरेनी गाउँपालिका–१ का ८ वर्षीय पुजन सिंजालीलाई चितुवाले आक्रमण गरेको घटना जोडिएको छ। घटनामा बालक सिंजालीको मृत्यु भएको छ। जिल्र्ला लय तनहुँका अनुसार २०७४ फागुन १ देखि अहिलेसम्म आठजना बालबालिकालाई चितुवाले सिकार बनाइसकेको छ भने चारजना बालबालिका घाइते भएका छन्। सबैभन्दा बढी भानु नगरपालिकामा ६ जना बालबालिका चितुवाको सिकार बनेका छन्। शुक्लागण्डकी र आँबुखैरेनीका एक–एकजना बालबालिका पनि चितुवाको सिकार बनेका छन्। ‘बारम्बार चितुवालाई खोरमा पारेर नियन्त्रणमा लिइए पनि बालबालिकामाथिको आक्रमण अझै रोकिएन। कतै न कतै आक्रमण भइरहेको छ,’ भानु नगरपालिका–२ का अध्यक्ष अर्जुनबहादुर केसीले भने, ‘गाउँलेलाई नै त्रसित बनाउने गरी चितुवाले दुःख दिइरहेको छ। साँझ परेपछि घरबाहिर निस्कनसमेत डराउने अवस्था छ।’ केसीको अनुभवमा एउटै गाउँमा बारम्बार चितुवाले बालबालिकालाई सिकार बनाउनुमा जंगलमा चितुवाले आहार नभेट्दा मान्छेमाथि आक्रमण बढेको हो। सिकारको खोजीमा चितुवा बस्ती पस्दा त्यसको मारमा बालबालिका परेको उनले बताए।‘अहिले जंगलमा न त कुनै जंगली जनावर छन्। न मान्छेले नै घरायसी बस्तुभाउ लिएर जंगल जान्छन्, कतै पनि आहार नभेटेपछि चितुवा बस्तीमा पसेको हाम्रो अनुमान छ,’ उनले भने, ‘बस्तीमा पसेको चितुवाले पनि सुरुमा गाईबस्तु, कुकुर, बाख्रा खोज्ने हो, ती बस्तु पनि सहजै नभेटेपछि बल्ल मान्छेमाथि आक्रमण गरेको हुनसक्छ। सहजै सिकार गर्न सकिने भएकोले बच्चामाथि बढी आक्रमण भएको हो।’उनका अनुसार चितुवाको आक्रमणमा परेका गाउँनजिक घना जंगल छन्। त्यसबाहेक केही वर्ष अघिसम्म खेतीपाती हुँदै आएको जग्गा–जमिन खेती गर्न छाड्दा अहिले जंगल बनिसकेको छ। बस्तीकै बीचमा जंगल पनि छ। भानुका मझुवा उख्ले, सानो देउरालीलगायत सामुदायिक वन बस्तीनजिकै छन्। एउटा जंगलबाट सय मिटर हाराहारीमा बढेमाको अर्को जंगल रहेको र त्यही जंगलसँगै जोडिएर बस्ती बसेको उनले बताए। ‘बस्तीनजिकै घना जंगल भए पनि ती जंगलमा कतै जंगली जनावर, चराचुरुंगी भेटिँदैनन्, बेलाबेला बाँदर आए पनि बाँदरको बसाइ अस्थायी हुन्छ,’ केसीले भने, ‘आडैका बस्तीका बासिन्दाले पनि चरनका लागि गाईबस्तु जंगल लैजान छाडेका छन्। त्यसले गर्दा पनि चितुवालाई आहार अभाव भएकोले खानकै लागि बस्ती पस्ने गरेको हुनसक्छ।’

पछिल्लो समय गाउँलेले बाख्रा, सुंगुुर, बंगुुर, कुखुरा, कुकुर पाले पनि घरमै व्यवस्थित खोर बनाएर पाल्छन्। पहिले–पहिले गाउँलेले चरनका लागि जंगलमा गाईबस्तु, बाख्रालाई लैजान्थे र चितुवाले मौका हेरेर तिनै बस्तुलाई सिकार बनाउँथे। तर अहिले भने जंगलमा कसैले बस्तुभाउ चराउन नलैजाँदा चितुवालाई आहार अभाव भएको हुनसक्ने उनले बताए। ‘घरमा खोरमा पालेका बाख्रा, कुकुर, सुंगुर, बंगुर, गाइर्भैंसीलाई आहार बनाउने गरी चितुवा बस्ती पसेको हुनसक्छ। तर ती बस्तु पनि नपाएपछि बालबालिकालाई सिकार बनाएको हुनसक्छ,’ उनले भने, ‘किनकि हामीले बाख्रा थुनेर खोर बनाउँदा सिकारको खोजीमा आएको चितुवा पासोमा पार्न सफल भएका छौं।’उनका अनुसार चितुवाको आक्रमण प्रायःजसो बेलुकीपख हुने गरेको छ। दिनभर सिकारको खोजीमा जंगल चहार्ने चितुवा केही नभेटेपछि बेलुकीपख बस्ती पस्ने गरेको उनले बताए। ‘त्यही भएर हामीले स्थानीयलाई बेलुकीपख सचेत हुन भनेका छौं। बालबालिका बढी निसानामा पर्ने भएकोले पनि गाउँलेलाई सचेत बनाएका छौ,’ उनले भने, ‘बेलुकीपख बालबच्चाको विशेष ख्याल गर्न भनेका छौं।’ उनका अनुसार आक्रमण बढेपछि भानु नगरपालिकाका १,२,३ र ४ नम्बर वडामा चितुवा नियन्त्रणका लागि परम्परागत खोर (पासो) निर्माण गरिएको थियो। ती खोरमा अहिलेसम्म ६ वटा चितुवा परिसकेका छन्। तीबाहेक मरेका चितुवामात्र पाँचवटा भेटिएका छन्। तनहँुका वन अधिकृत केदार बरालका अनुसार भानुमा रहेको चितुवाको समस्या अहिले अन्य क्षेत्रमा बिस्तार भएको छ। भानुमा नौवटा खोर बनाएर चितुवा नियन्त्रण गरेको भए पनि अहिले वरपरका अन्य गाउँमा त्रास बढेको उनले बताए। ‘भानुको समस्या हल भएको अनुमान हुँदै गर्दा आक्रमण पनि घटेका थिए। तर अहिले अन्यत्र आक्रमण बढेको छ,’ उनले भने, ‘सिकारकै खोजीमा बस्ती पसेको चितुवाले अरू केही नपाएपछि मान्छेको बच्चामाथि आक्रमण गरेको हो।’जंगलभित्रै पाइने आहारको रूपमा वन्यजन्तु नभेटेपछि चितुवा बस्ती पसेको उनले बताए। ‘हामीले खोरमा पारेका चितुवा बाख्राकै खोजीमा गएको पुष्टि भएको छ। किनकि खोरमा एकापट्टि बाख्रा र अर्कोपट्टि चितुवा पर्नेगरी खोर बनाइदिएका थियौं,’ बरालले भने, ‘त्यही बाख्रा खान पुगेको चितुवा खोरमा परेको हो। त्यसैलै पनि जंगलमा आहार कम भएपछि बस्ती पसेको भन्न सकिन्छ।’जंगलमा चितुवाको आहाराको रूपमा पाइने हरिण, खरायो, कुखुरा, चित्तल, मृगलगायत जनावर अहिले विस्थापित भएका छन्। खानेपानीको अभावले जंगलमा जनावर अडिन छाड्दा त्यसको मार चितुवालाई परेको उनले बताए। ‘जंगलभित्रका पानीका मूल सुकेका छन्। पोखरी पनि सुकिसके, जसले गर्दा हरिण, वनकुखुरा, चित्तल, खरायोजस्ता जंगली जनावर बस्न छाडेपछि चितुवाले आहार भेटेन,’ उनले भने, ‘पानीको मूल, स्रोत संरक्षण गरेर जंगली जनावरलाई जंगलमै टिकाइराख्ने प्रयास भइरहेको छ। जसोतसो जोगिएका केही जनावरलाई त्यही जंगलमा टिकाइराख्न पनि पानीको मुहान संरक्षण गरिदिने योजना छ। नत्र जंगल अब जीवजन्तुविहीन हुने अवस्था आएको छ। त्यसको मार चितुवाको आहारमा परेको छ।’वन्यजन्तुसम्बन्धी जानकार प्राध्यापक करनबहादुर शाहका अनुसार विशुद्ध वन्यजन्तुको हिसाबले चितुवा जंगलमा आश्रित र केही घरगाउँमा आउजाउ गर्ने जनावर हो। तर अहिले जंगलमा आहार नभेटेपछि गाउँ पस्न थालेको उनले बताए। ‘जंगलमा आहार बनाउन मिल्ने जीवजन्तु नभेटेपछि चितुवा बस्ती पस्ने नै भयो। चितुवाको घर भनेको जंगल हो। तर खानेकुरा नपाएपछि बस्ती पस्न थालेको छ,’ शाहले भने, ‘जंगलमा पर्याप्त खानेकुरा पाउँदाको अवस्थामा पनि कहिलेकाहीं फरक स्वादका लागि बेलाबेला घरपालुवा जनावर मार्ने बानीबेहोरा हुन्छ। तर पछिल्लो समय त जंगलमा खानेकुरा अभाव भएपछि आहाराकै खोजीमा गाउँ पसेको हो।’पछिल्लो समय गाउँमा पनि गाईबस्तु, भेडाबाख्रा, कुकुर पाल्ने चलन हराउँदै जाँदा गाउँमा पनि चितुवाले पर्याप्त र सहजै आहार पाउन छाडेको उनले बताए। ‘गाउँमा पनि जीवजन्तु नपाएपछि मान्छेमाथि आक्रमण गरेको हो। ठुला मान्छेसँग आफै त्रसित हुन्छ। त्यसैले बच्चामाथि निरन्तर आक्रमण गर्न सक्छ,’ उनले भने, ‘एकै ठाउँमा बच्चा मारिनुमा सम्बन्धित निकायले अध्ययन नगर्दा समस्या हो। चितुवा समातेर बाहिर पठाएरमात्र समाधान हुँदैन, चितुवाको आहार व्यवस्थापन गर्नुपर्छ।’उनका अनुभवमा चितुवा ‘सिंगल’ बस्छ। त्यो बेला चितुवाले सीमा निर्धारण गरेको हुन्छ। एकअर्काको सीमा मिचिँदा भुइँ कोपर्ने, बढी दिसा गर्ने चितुवाको प्रकृति नै हुने उनले बताए। एउटा चितुवाले छाडेको संकेत अर्कोले थाहा पाउँछ। त्यसैले एकअर्को चितुवालाई संकेत दिनका लागि पिसाब फेर्ने, खोस्रने, दिसा गर्ने चितुवाको चलन हुन्छ। चितुवाको बच्चा डेढ वर्षसम्म माउसँगै रहन्छ, त्यसपछि माउबाट छुट्टिन्छ र आफ्नो क्षेत्र ओगटेर बस्ने बानी हुन्छ। स्वस्थ बच्चाका लागि पनि ठाउँ चाहिन्छ। कि त खालि भएको ठाउँमा वा कि अरूलाई विस्थापित गरेर त्यस ठाउँमा स्थापित हुने चितुवाको प्रक्रिया हुन्छ। खालि भएको ठाउँमा अन्यत्रबाट आउने सम्भावना पनि हुन्छ। एउटा चितुवाले २० वर्ग किलोमिटर क्षेत्र जति ओगट्छ। त्यसैले आफ्नो क्षेत्रमा बस्ने र खाने ठाउँ नपाउँदा मानव बस्तीतिर आकर्षित हुँदै जाँदा मान्छेमाथि आक्रमण भएको हुनसक्ने उनले बताए। ‘चितुवा एक जिल्लाबाट अर्कोमा आउजाउ गरिरहन्छ। चितुवाको संख्या बढी भएकोले पनि यो अवस्था आएको हुनसक्छ,’ उनले भने, ‘तर मान्छेमाथि आक्रमण हुनुमा जंगलमा खानेकुरा नपाएरै हो।’चितुवाको आक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले चितुवालाई मार्न निर्देशन दिएको छ। प्रशासनले प्रहरीलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालयमा बुझाउन निर्देशनसहितको पत्राचार गरेको थियो। शुक्लागण्डकीमा पनि स्थानीय प्रशासनले त्यही अनुसार पत्राचार गरेको छ। आँबुखैरैनीमा सशस्त्र प्रहरीको टिम खटाउने, फलामे खोर बनाउने तयारी छ। त्यसबाहेक वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०७१ अनुसार पीडितलाई राहत रकम प्रदान गरिएको पनि बरालले बताए। मृतकको परिवारलाई तत्काल ५० हजार र बाँकी नौ लाख ५० हजार राहतस्वरुप उपलब्ध गराएको पनि बरालले जानकारी दिए।

चितुवा आक्रमणमा परी मृत्यु भएका बालबालिकाहरू –
१. २०७४ फागुन १ गते भानु नगरपालिका–३ का सात वर्षीय विशाल श्रेष्ठ।
२. २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ का चार वर्षीया रञ्जिता लम्साल।
३.२०७५ मंसिर १५ गते भानु नगरपालिका–२ का आठ वर्षीय अमृत गुरुङ।
४.२०७६ जेठ २४ गते भानु नगरपालिका–२ का आठ वर्षीया पुष्पा अधिकारी।
५. २०७६ असोज २१ गते भानु नगरपालिका–१ का तीन वर्षीय आशिष बानियाँ।
६. २०७६ कात्तिक ११ भानु नगरपालिका–२ का सात वर्षीय ऋतिक रोक्का।
७. २०७६ पुस १३ गते शुक्लागण्डकी नगरपालिका–३ का २ वर्षीय रविन नेपाली
८. २०७६ पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिंजाली।

२०७६ पुष २२ गते ८:०५ मा प्रकाशित