समाचारमा बालबालिका

होस्टेलमा सुतेका आठ वर्षीय बालकको सर्पले डस्दा ज्यान गयो

बर्दिबास नगरपालिका–१४ स्थित सिद्धार्थ बोर्डिङ स्कुलको होस्टेलमा सर्पले टोक्दा एक बालकको ज्यान गएको छ  सोमबार राति सुतेकै ठाउँमा सर्पले डस्दा युकेजीमा अध्ययनरत कैलाली गोदावरी नगरपालिका–२ अत्तरीया घर भएका आठ वर्षीय दशरथ ऐरको ज्यान गएको हो । स्कुलको होस्टेलमा सुतेको बेला उनीसहित अर्का विद्यार्थीलाई पनि सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बनेका दशरथलाई उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी नकुल पोखरेलले जानकारी दिए । सँगै सुतेका ९ कक्षाका विद्यार्थी १५ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो । बर्दिबास–१ बस्ने उनको अहिले गम्भीर अवस्थामा सर्पदंश केन्द्रमा उपचार भइरहेको सिद्धार्थ पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल प्रल्हाद लामाले बताए । उनलार्इ थप उपचारका लागि सर्पदशं केन्द्रले जनकपुर अञ्चल अस्पतालमा रेफर गरेको । घटनापछि बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगाना सर्पदंश उपचार केन्द्रमा पुगेका छन् । बर्दिबासमा अघिल्ला वर्षभन्दा सर्पदशंका घटना बढेका छन् । सर्पले डसेर गम्भीर अवस्थाका आशीषलाई भेन्टिलेटर अभावमा उपचारमा समस्या भएको सर्पदशं उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए । देवकोटाका अनुसार सर्पदंशका घटना बढेसँगै भेन्टिलेटरको व्यवस्था गर्न भनिए पनि सुनुवाइ नभएको बताए । उनले राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई बचाउन पनि भेन्टिलेटर जरुरी भएको उल्लेख गरे । 

 २०७५ साउन १५ गते ९:१३ मा प्रकाशित