समाचारमा बालबालिका

चाउचाउ खाएर सुतेकी बालिका मृत अवस्थामा फेला, आमा छोरा सिकिस्त

धनुषाधाम नगरपालिकामा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए । शुक्रबार साँझ २९ वर्षीया आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र ४ वर्षीय भाइ राकेश चाउचाउ खाएर सुतेका थिए । शनिबार बिहान बालिका मृत अवस्थामा फेला परेकी थिइन् । आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गराइएको प्रहरी निरीक्षक थापाले बताए । आमा छोरोको स्थानीय अस्पातलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हाल दुवैको अवस्थामा सुधार आएको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थापाले बताए ।सँगै चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको खाली प्याकेट प्रहरीले बरामद गरेको छ ।बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा घरका सबै सदस्य अस्पतालमा रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमुना संकलन गरेको छ । बालिकाको मृत्यु बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२०७६ भदौ ७ गते २:५० मा प्रकाशित