समाचारमा बालबालिका

अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते

अछामको चौरपाटी गाउँपालिकाको सोकटमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना विद्यार्थी घाइते भएका छन् ।उनीहरु सबै दशपल्ले माविमा अध्ययनरत विद्यार्थी हुन् । दुर्घटनामा परी मृत्यु हुनेमा कक्षा ८ मा अध्ययनरत  १३ वर्षकी काली साउद, कक्षा ९ मा पढ्ने १५ वर्षकी लक्ष्मी साउद र सोही विद्यालयबाट एसइई परीक्षा दिएका १६ वर्षीय रमेश साउद रहेको स्थानीय जगतबहादुर साउदले जानकारी दिए । उनका अनुसार घटनामा घाइते हुनेमा कक्षा ६ मा अध्ययनरत उत्तम साउद, कक्षा ८ मा अध्ययनरत मानबहादुर भुल र कक्षा ९ मा अध्ययनरत सारदा साउद रहेको छन् । उनीहरुको अवस्था गम्भीर छ भने कक्षा १ मा अध्ययनरत सरस्वती साउद सामान्य घाइते भएकी छन् । उनीहरु चारै जनालाई उपचारका लागि चौरपाटी स्वास्थ्य केन्द्रमा पुर्‍याइएको छ । सोकटबाट बालुवा ल्याउन सेती नदीतर्फ जाँदै गरेको से१त ७८३९ नम्बरको ट्याक्टरमा विद्यार्थी चढेका थिए । ट्याक्टर ओरालोमा अनियन्त्रीत भएर दुर्घटना भएको प्रारम्भीक अनुमान छ । बिहानी कक्षा सञ्चालन भइरहेको दशपल्ले मावितर्फ जाँदै गरेका विद्यार्थी बाटोमा ट्याक्टर भेटिएपछि तछाडमछाड गर्दै चढेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार घटनाको अवस्था अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय मंगलसेन, इलाका प्रहरी कार्यालय साँफेबगर र चौरापटीबाट प्रहरी घटनास्थल गएको छ । ट्याक्टरका चालक भने हामफालेर बाँच्न सफल भएका छन्।

२०७६ असार ११ गते १०:०४ मा प्रकाशित