समाचारमा बालबालिका

ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

ट्याक्टरबाट लडेर बिहीबार सप्तरीमा एक बालिकाको मृत्यु भएको छ। घरनजिकै रहेको कञ्चनरुप नगरपालिका ६ जमुवा घोघनपुरस्थित मामाघरमा बिग्रेर राखिएको स १ त १९९३ नम्बरको ट्याक्टरमा खेलिरहेकी बालिकाको लडेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। कञ्चनरुप नगरपालिका ६ का सञ्जीव चौधरीकी दुई वर्षीया छोरी कृतिका चौधरीको ट्याक्टरबाट लडेर निधन भएको उनका हजुरबुवा कुशेश्वर चौधरीले जानकारी दिए। संजीव वैदेशिक रोजगारका लागि कतारमा छन्। घाइते भएपछि उपचारका लागि बालिकालाई स्थानीय धर्मेश्वर अस्पताल ठेलिया भर्ना गरिएको थियो। चौधरीका अनुसार थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। राजविराजस्थित अञ्चल अस्पतालमा पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि परिवारलाई बुझाइएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।

२०७५ मंसिर ६ गते ४:५८ मा प्रकाशित