समाचारमा बालबालिका

१५ वर्षीया किशोरीको रहस्यमय मृत्यु

आफ्नै घरमा जलेकी समीक्षा ठकुरीको उपचारका क्रममा गत बुधबार मृत्यु भएपछि घटनाको रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । ९ असार मध्य रातमा ठकुरीको शरीरमा आगो लागेको थियो । ठकुरीकी आमा माया थापाले आफ्नी छोरीको हत्या भएको दाबी गरेकी छिन् । रोजगारीका क्रममा इराकमा रहेकी थापा छोरीको शरीर जलेपछि स्वदेश फर्केकी थिइन् । तर, होसमा आउनुअघि नै समीक्षाले ज्यान गुमाइन् । ९ असारमा जलेकी उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल ल्याइएको थियो । अस्पतालले पाल्पा रिफर ग(यो । पाल्पामा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो । बुधबार समीक्षाको मृत्यु भयो । उनकी आमा माया थापाले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिइन् ।

परिवारमाथि नै आरोप
समीक्षा हाल कक्षा १० मा अध्यनरत थिइन् । जन्मिएको ९ महिनामै उनलाई लिएर माया माइती गएकी थिइन् । मामाघरमै हुर्किएकी समीक्षा गत तिहारपछि रुपन्देहीको कञ्चन गाउँपालिका ५ पिपरीचापास्थित घरमा बस्दै आएकी थिइन् । आमा इराक गएपछि घर फर्किएर समीक्षाले अंश दाबी गरेको परिवारिक स्रोत बताउँछ । समीक्षाले घरमा हजुरआमा, बाबा, हजुरबाबालगायतको यातना खेप्ने गरेको मायाको आरोप छ । ‘घर गएदेखि बाबाले, हजुरबाले, हजुरआमाले कुटे, खाना दिएनन् भनेर पटकपटक नानीले फोन गर्थिन्,’ आमा मायाले भनिन्, ‘राम्रो विषय लिएर उच्च शिक्षा हासिल गर्ने हो । मम्मी अब हजुरले मात्रै मेरो पढाइ खर्च जुटाउन सक्नुहुन्न भन्दै घरमा गएकी हो । तर, म विदेश भएका वेला त्यस्तो घटना घटेछ । आउँदा ऊ अचेत थिई, बोली पनि सुन्न पाइन ।’ मायाका अनुसार घटना हुनअघि समीक्षाले फोन गरेकी थिइन् । ‘मम्मी मलाई आज धेरै गाली गरेका छन्, खाना पनि दिएका छैनन्, मार्छन् कि के हो भनेर छोरीले फोन गरेकी थिई,’ मायाले भनिन्,‘ मैले एउटा माखा मार्न त सजिलो छैन केही गर्दैनन्, जाऊ भनेपछि हुन्छ भनेकी थिई । तर, त्यसै रात आक्रमण भएछ ।

तेल खन्याइदिएको आरोप
घाइते अवस्थामा समीक्षाको उपचारका क्रममा अस्पतालमा कुरुवा बसेकी उनकी सानिमा रचना बुढाथोकीले मट्टीतेल खन्याएर परिवारले मार्न खोजेको आरोप लगाइन् । ‘समीक्षाले मलाई भनेअनुसार उनकी हजुरआमाले मट्टीतेल खन्याएर आगो लगाइदिएकी थिइन् । उपचार कक्षमा मलाई मोबाइल लग्न दिएका थिएनन्, समीक्षाले स्पष्ट रूपमा हजुरआमाले मट्टीतेल खन्याएर आगो लगाइदिएको बताएकी थिइन्,’ बुढाथोकीले भनिन् ।

प्रहरीमा दुईथरी जाहेरी
समीक्षाको मृत्यु विषयमा प्रहरीमा २ थरी जाहेरी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार आमा र बाबाले छुट्टाछुट्टै जाहेरी दिएका छन् । आमाले दिएको जाहेरीमा घरपरिवारलाई किटानी गरिएको छ भने बाबुले घटनाको अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएका छन् । इप्रका बुटवलमा आएका जाहेरीलाई बुटवलमा दर्ता नगरी प्रहरी कार्यालय सालझन्डी पठाइएको प्रहरीले जनाएको छ ।

मृत्यु शंकास्पद : प्रहरी
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक९एसपी० श्याम ज्ञवाली समीक्षाको मृत्यु शंकास्पद रहेको बताउँछन् । प्रहरीले समीक्षाको मृत्युअघि नै यस घटनाका विषयमा सामान्य सोधपुछ गरेको उनले बताए । ‘घटनाको प्रकृतिदेखि विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको छ,’ उनले भने । एसपी ज्ञवालीले ४ जनाका बारेमा किटानी जाहेरी पनि परेको भन्दै प्रहरीले अपराधी उम्किन नपाउने गरी अनुसन्धान गर्ने बताए ।

२०७५ असार २४ गते प्रकाशित