घर भत्किँदा बालकको मृत्यु
घर भत्किँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा एक बालकको मृत्यु भएको छ । स्थानीय मनोज थापाको घर भत्किँदा उनका ११ वर्षीय छोरा मनिष थापाको च्यापिएर मृत्यु भएको हो । वडा अध्यक्ष निङमर लामाका अनुसार भूकम्पले चिरा पारेको घरमा बसोवास गर्दै आएको मनोजको परिवारमा ७ जना थिए । भूकम्पपछि घर बनाउन अनुदान नपाएका उनको परिवार पुरानै घरमा बस्दै आएको थियो । साँझ बालक बाहेक अरु बाहिरै भएको बेला घर भत्किएको थियो । विद्यालयबाट आएर टिभी हेरिरहेका मनिषको च्यापिएर भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । च्यापिएर गोठमा रहेका १२ बाख्रा समेत मरेका छन्।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय धोबी र सिरिसे चौकीबाट प्रहरी पठाइएको छ।
२०७६ भदौ १८ गते ७:४९ मा प्रकाशित